बराबर शेयर : निर्माता र प्रदर्शकको सङ्घमार्फत गरिएको निर्णयको चलचित्रकर्मीले गरे प्रशंसा
- मंसिर १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
निर्माताले वर्षौंदेखि उठाइरहेका शेयर बाँडफाँटको मुद्दा नौलो होइन । चलचित्र निर्माता र चलचित्र सङ्घबीच थुप्रैपटक यस विषयमा विवाद भइसकेको थियो । विसं २०६० मा ४२ दिनको आन्दोलनपछि १९ बुँदे सहमति, विसं २०७५ मा निर्माताद्वारा पुनःआन्दोलन गर्ने घोषणापश्चात् भएको १७ बुँदे सम्झौता कार्यान्वयन भएको थिएन । प्रदर्शकले चलचित्र प्रदर्शनको समयमा समस्या दिने भन्दै एकाधबाहेक निर्माताले आवाज उठान सकेका थिएनन् ।
कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विसं २०७८ असोजमा पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत विभाजनको निर्णय भएको थियो । सो समयमा निर्माताले केही वर्षयताको धेरै शेयर पाएका थिए । त्यसपछि विसं २०७९ बाट शेयर बाँडफाँटसम्बन्धी नयाँ नियम लागू गर्दै पहिलो र दोस्रो साता निर्माता र प्रदर्शकले ५०÷५० प्रतिशत र तेस्रो सातादेखि निर्मातालाई ३५ प्रतिशत सेयर पाउने व्यवस्था भयो ।
गएको तिहारको अवसर पारेर गत कात्तिक २४ गतेदेखि प्रदर्शन गरिएको नेपाली चलचित्र ‘दिमाग खराब’को निर्माण समूहले विदेशी चलचित्रसरह सो सङ्ख्या र प्रदर्शनअन्तर्गत भएको कूल व्यापारको ५० प्रतिशत शेयर नपाए प्रदर्शन रोक्ने घोषणा गरेपछि यस विषयमा बहस सुरू भएको थियो ।
‘लूट’ चलचित्रमार्फत कथ्य शैली र पात्रको भाष्य शैलीलाई बदल्न सफल निर्देशक निश्चल बस्नेतले गरेको आँटलाई सामाजिक सञ्जालमार्फत अधिकांश चलचित्रकर्मीले सहमति दिएका थिए । चलचित्र भवनमा विदेशी चलचित्र कम रहेको र नेपाली चलचित्रमा दर्शक बढिरहेका सन्दर्भमा उचित माग सम्बोधन नगरिए ओभर दी टप (ओटिटी) वा अन्य विकल्पिक माध्यमबाट चलचित्र प्रदर्शन गरिने घोषणा निर्देशक बस्नेतले गरेका थिए ।
सोही मौका छोपेर निर्माता सङ्घले माग सम्बोधन नगरिए स्वदेशी मात्र नभई विदेशी चलचित्रको प्रदर्शन रोकेर आन्दोलन गर्ने चेतावनी दिएको थियो । त्यसपछि दुई सङ्घबीच भएको वार्तामार्फत देखिएका समस्याको समाधान गर्न सकारात्मक छलफल भयो ।
“एउटा चलचित्र नभई समग्रमा देखिएका समस्याको विषयमा संवाद गरेका हौँ । यो सहमतिले निर्मातालाई ऊर्जा दिएको छ । यो दुवै पक्षको जीत हो”, निर्माता सङ्घका अध्यक्ष खड्काले भने । साथै, उनले निर्माता र प्रदर्शकलाई बराबर शेयर दिनेसहित छ बुँदामा सहमति भएको जानकारी दिए ।
चलचित्र निर्माण गरेर चलचित्र भवनमा प्रचारप्रसार सामग्री श्रव्यदृश्य (ट्रेलर, टिजर), पोस्टर राख्नेलगायत विभिन्न विषयवस्तुमा निर्माताले शुल्क तिर्दै आइरहेका थिए । यद्यपि विदेशी चलचित्र खरिद गरेर ल्याइने भएकाले चलचित्र भवनकै दायित्व रहँदै आएको छ । नेपालीको हकमा पनि सहमति गर्ने प्रयास अझै छ ।
यो समस्यालाई नजिकबाट बुझ्नुभएका निर्माता तथा प्रदर्शक दीपकराज गिरीले यहाँ नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको आइएनआई सिनेमाजको शुभारम्भमै नेपाली चलचित्रको निर्माण पक्षलाई ५० प्रतिशत शेयर दिने घोषणा गरेका थिए ।
“मैले निर्माताका रुपमा उठाउँदै आएको समस्यालाई आफू प्रदर्शक भएपछि सम्बोधन गरेको हो । यसले अन्य प्रदर्शकलाई पनि प्रेरणा दिओस् भन्ने थियो । पछिल्लो सहमतिले निर्माताको धेरै अगाडिको माग सम्बोधन गरेको छ । अब यस क्षेत्रमा देखिएको समस्यामा दुई संस्था एकजुट भएर अगाडि बढ्ने छौँ”, निर्माता गिरीले भने ।
ढिलै भए पनि निर्माता र प्रदर्शकको सङ्घमार्फत गरिएको निर्णयको चलचित्रकर्मीले प्रशंसा गरेका छन् । आउँदो समयमा देखिने अन्य समस्यालाई दुवै सङ्घ मिलेर समाधान गर्ने सहमति जुटेको छ । यो सहमति जति धेरै समय लागू हुनेछ, त्यति नै दुई संस्थाबीचको सामिप्यता बढ्नेछ । अन्य समस्या नदेखिएका होइनन् तर छलफलले सकारात्मकता थपेको छ । अर्थात् एकजुट भएर अगाडि बढ्न पछिल्लो संवादले मद्दत गरिरहेको छ । चलचित्रसम्बन्धी कानुन बन्ने अन्तिम प्रक्रियामा रहेकाले पनि यस क्षेत्रले आगामी समयमा नयाँ गन्तव्य पाउने विश्वास चलचित्रकर्मीको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments