रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु, एकजना बन्दी, रुसी सेनामा भएका अरुलाई नेपाल फर्काउन आग्रह
- मंसिर १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहेका ६ जना नेपाली नागरिकहरुको मृत्यु भएको र एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेको जानकारी दिएको छ। रुसले परराष्ट्रलाई यो जानकारी पठाएको परराष्ट्रले जनाएको छ। यसअघि रुसस्थित नेपाली दुताबासले तीनजना नेपालीहरुको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो।
परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार रुसी सेनामा कार्यरत गोर्खाका सन्दिप थपलिया, वाणगंगा– १ कपिलबस्तुका रुपक कार्की, कास्कीका देवान राई, पुतलीबजार स्याङ्जाका पितम कार्की, मेलुङ् गोरखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो।
‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन अनुरोध गरेको छ,’ परराष्ट्रले भनेको छ । नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।
परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ। ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नु हुन सर्बसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ।’
परराष्ट्रले गत साउन १६ गते विज्ञप्तिमार्फत् विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराइसकेको पनि पुनः स्मरण गराएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments