राप्रपाले राष्ट्रियसभाको निर्वाचनमा भाग लिने : राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा प्रस्ताव पारित

- मंसिर २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आगामी माघ ११ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।
यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय पनि गरेको छ। यस्तै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको पनि श्रेष्ठले जानकारी दिए ।
यसैगरी राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ।
बैठकले जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र समितिको प्रस्ताव लाई परिमार्जन सहित पारित गरेको छ । सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाण्डौंमा बस्ने श्रेष्ठको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर