समानुपातिकको सूचीमा रहेका श्रेष्ठ, ढुङ्गाना, पाण्डे र सतारले नाम फिर्ता लिए

- मंसिर २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन नेपाली कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालयको सचिवालयले जनाएको छ ।
समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका उनीहरुले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् ।
फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरुले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेसमा उम्मेदवार आकांक्षी बढेका छन् । शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकांक्षी देखिएका छन् ।
कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङ्गटा पनि कांग्रेसबाट राष्ट्रिय सभाका आकांक्षी देखिएका छन् ।कांग्रेसबाट राष्ट्रिय सभा सदस्य हुनका लागि आकांक्षी कलाकार शाहले भने, ‘आकांक्षी हुँ । पार्टीले के गर्छ, थाहा छैन । मैले बुझ्ने मौका पाएको छैन ।’ राष्ट्रिय सभामा जान इच्छुक सुवेदीले आफ्नो इच्छा र आवश्यकतालाई पार्टीले कार्यान्वयन गर्नेमा आशावादी रहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर