नेपाल प्रहरी : ७ एसपी को लागि १२ डीएसपी प्रतिष्पर्धामा

- पुष ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा छन् । ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिष्पर्धामा छन् ।
२०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिष्पर्धामा छन् ।
त्यस्तै, राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिष्पर्धामा छन् । प्रहरीमा पछिल्लो केही समययता सिनियरिटीका आधारमा बढुवा हुँदै आएकाले त्यही कायम हुनुपर्ने भन्दै शीर्ष ७ मा रहेकाहरुले लबइङ गरिरहेका छन् ।

यद्यपि, वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामू दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् । लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् ।
तीन जनालाई बढुवा गराउन तीब्र दबाब आएपछि प्राविधिक तर्फको एउटा दरबन्दी जनपथतर्फ ल्याएर रिक्त दरबन्दी बढाउने प्रयास समेत भएको थियो । एसएसपी मोहन पोखरेलले राजीनामा दिएपछि खाली रहेको दरबन्दीमा समेत बढुवा गरेर दुई जनालाई बढुवा गर्न लबिङ भएको थियो । यद्यपि, हालसम्म त्यो प्रस्ताव अघि बढेको छैन ।
प्रहरी अधिकृतहरुका अनुसार, वरियताक्रम अनुसार बढुवा हुने भए केही दिनअघि नै सूचना निस्किसक्थ्यो । विगतमा अवैज्ञानिक रुपमा बढुवामा छुटाइएको भन्दै एसपी नरेन्द्र उप्रेती, आभुषण तिम्सिना लगायतले राजीनामा दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर