गाजा युद्धमा बेइजिङको व्यस्तता : रुससँगको युद्ध अन्त्यमा युक्रेनले खोज्यो चीनको साहारा
- फाल्गुन १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै शान्तिका लागि युक्रेनले चीनको खोजी गरेको छ । रुसको सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न फेरि आग्रह गरेको हो । युक्रेनी र चिनियाँ अधिकारीबीच यसै साता स्विट्जरल्याण्डको डाभोसमा कुराकानी भएको समाचार सिएनएनले प्रकाशित गरेको छ । त्यस वार्तामा युक्रेनका तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र उनका विदेशमन्त्री दिमित्रो कुल्लेबा सहभागी थिए भने चीनबाट विदेशमन्त्रालयका प्रतिनिधि सहभागी रहेको सिएनएनले उल्लेख गरेको छ ।
वार्तापछि सञ्चारकर्मीसँग जेलेनेस्कीले दिएको प्रतिक्रिया उद्दृत गर्दै सिएनएनले लेखेको छ, ‘युक्रेनको शान्ति योजनामा चीनको संलग्न हुन चाहान्छ ।’ यस्तै विदेशमन्त्री दिमित्रोले चीनसँग अझै घनिभूत छलफल हुने बताएका छन् । ‘हामीले अझै उच्च तहमा छलफल गर्न चाहेका छौं । सम्पर्क स्थापति गरेर शान्ति प्रस्तावबारे चिनियाँ पक्षसँग सबै तहमा संवाद हुनेछ,’ उनले भनेका छन् ।
यता, यसै साता विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले जेलेनेस्कीसँग कुनै भेट गरेनन् । यस्तै २५ मिनेटको सम्बोधनमा उनले विश्व युद्ध परिवेशबारे कुनै पनि धारणा राखेनन् । उनले चीनको अर्थतन्त्र सम्हालिने स्थितिमा रहेको भन्दै सबैलाइ आश्वस्त बनाइरहे । गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङले युक्रेनी समकक्षी जेलेनेस्कीसँग भेट गरेर शान्तिका लागि पहल गर्ने बताएका थिए ।
विश्लेषक यु सुनले सिएनएनसँग भनेका छन्, ‘रुस युक्रेनको युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्ने सवालमा आफूले निकै काम गरेको चीनको मान्यता छ । तर शान्तिको चिनियाँ संस्करणमा चित्त बुझाउने पक्षमा जेलेनेस्की छैनन् ।’ गत वर्ष चीनले शान्तिका लागि पहल गर्ने भन्दै आफ्नै तरिकाको प्रस्ताव अघि सारेको थियो । युक्रेनी भुभागमा रहेका रुसी सेना फिर्ता विनै युद्धविरामको प्रस्ताव आएपछि युक्रेनले त्यसलाई स्वीकार गरेको थिएन ।
डाभोसको वार्तापछि चीनले अघि सार्ने प्रस्तावमा सबैको नजर रहेको विश्लेषकहरु बताउँछन् । ‘रुसले धेरै क्षति भोग्न नपरोस् भनेर चीनले पहिले शान्तिका लागि मध्यस्थता गर्न चाहेको थियो । तर अहिले चीनलाई त्यतापट्टि कम चासो छ । अहिले शान्ति वार्ताको जग कसरी बसाउने भन्नेतर्फ चीनको ध्यान छ । अहिले अमेरिकाले सम्पूर्ण शक्ति गाजातर्फ केन्द्रित गरेकाले स्थिति रुसको पक्षमा पुगेको छ । पश्चिमा र युक्रेनको वकालतझैं चीनले निष्पक्ष शान्तिलाई अघि बढाउनुपर्ने कारण पनि निकै न्युन छ,’ उनले सिएनएनसँग भनेकी छिन् ।
युक्रेनले युद्ध अन्त्यका लागि पहल गरोस् भन्ने चाहाना राखिरहँदा चीनले मध्यपूर्वको युद्धमा बढी चासो राखेको अवस्था छ । कायरोमा पुगेर चिनियाँ विदेश मन्त्री वाङ यीले अरबलिगसँग संयुक्त वक्तव्य जारी गरे । जसमा भनिएको छ, ‘तत्कालै त्यहाँ युद्ध विराम गरेर वृहत शान्ति सम्झौता हुनैपर्छ ।’
विश्व शान्तिका लागि चीनले वृहत शान्ति सम्मेलन गर्दै इजरायल र प्यालेस्टाइन दुई छुट्टै राज्यको अवधारणा कार्यान्वयनका निम्ति समयसीमा तोक्न प्रभावकारी कदम चालिने वाङ्ले बताएका छन् ।
चीनले प्यालेस्टाइनलाई छुट्टै राज्य बनाउने अडान अझै कसरी दरिलो बनाउनेछ भन्नेबारे केही बताएको छैन । यद्यपि सन् १९८० देखिनै उसले प्यालेस्टाइनलाई सार्वभौम र ज्य मानिरहेको छ र लामो समयदेखि उसले दुई राज्यको अवधारणाको विकालत गरिरहेको छ। मध्यपूर्वको यो युद्ध चीनको लागि वैकल्पिक अन्तर्राष्ट्रिय नेता बन्ने मौका रहेकाले बेइजिङले गाजा युद्धमा बढी अडान राखिरहेको विश्लेषण भइरहेको छ ।
विश्लेषक एलेक्स जहेबले सिएनएनसँग भनेका छन्, ‘अमेरिकी नीतिले विश्वको स्थायित्वमा असर पुगिरहेको मत हाबी भइरहेको समयमा गाजा युद्धले विश्वमा अमेरिकाप्रति अर्को आक्रोश जन्माइरहेको छ । यस्तो अवस्थामा कूटनीतिक बलमार्फत नतिजा निकाल्नका निम्ति बेइजिङले अडानसँगसँगै पहल पनि गरिरहेको छ।’
गाजाको युद्धमा पश्चिमा शक्ति पनि विभिक्त रहेकाले चीनले त्यसलाई गतिलो मौकाका रुपमा लिएको एलेक्स बताउँछन् । ‘ग्लोबल साउथ राष्ट्रहरुले इजरायलको दमन र ज्यादतीको कडा विरोध गरिरहेका छन् । यस्तो अवस्थामा ग्लोबल साउथ राष्ट्रहरुप्रति सद्धभाव राख्दै शान्तिको मध्यस्थता गरेर चीनले लाभ लिन खोजेको छ,’ उनले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments