इन्डियन प्रिमियर लिग : चेन्नईलाई ८ विकेटले पराजित गर्दै लखनउको जित

- बैशाख ८, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौँ ।

कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम ओभरअघि नै २ विकेट गुमाएर १८० रन बनायो।

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। राहुल र डि ककबीच पहिलो विकेटका लागि १३४ रनको विशाल साझेदारी भएको थियो।

निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १र१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए। अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजा ५७ रनमा अविजित रहे।

लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १र१ विकेट रह्यो। जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। लखनउले ७ खेलबाट ८ अंक जोडेको छ। समान खेल र अंक रहेको चेन्नई तेस्रो स्थानमा रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर