बालेन विरुद्ध एमाले : राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालनेको देशभक्तिमाथि नै प्रश्न चिन्ह

- जेष्ठ २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सत्तारुढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौँ महानगरप्रमुख बालेन साहमाथि खनिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै एमाले सचिव एवं सांसद योगेश भट्टराईले बालेनमाथि विभिन्न आरोप लगाए ।
सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाएका भट्टराईले अधिकांश समय बालेनविरुद्ध प्रयोग गरे । उनले एमाले अध्यक्ष ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह भएको टिप्पणी गरे । जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए ।
सांसद भट्टराईले राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालनेको देशभक्तिमाथि नै प्रश्न चिन्ह खडा गरे । उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे ।

सांसद भट्टराईको भनाई
हामीले काठमाडौँका बाटा चौडा बनायौँ, केशव स्थापित नै हुनुहुन्थ्यो, माइतीघर मण्डला, तीनकुने लगायतका ठाउँहरूलाई विस्तार गर्न हामीले भूमिका खेल्यौँ । पछिल्लो पटक विद्यासुन्दर शाक्य आएपछि काठमाडौँको पुनर्निर्माणमा उल्लेख्य भूमिका खेल्यौँ । रानीपोखरी, कमलपोखरी बनायौँ, दरबार हाइस्कूल बनायौँ । दरबार स्क्वायरको पुनर्निर्माणको काम गर्यौै । यी तमाम कामहरू नेकपा एमालेको नेतृत्वमा भएको छ ।
आज काठमाडौँ महानगरका प्रमुखज्यूलाई सहयोग गर्न तयार छौँ । काठमाडौँलाई ल्याण्डफिल साइट चाहियो, नेकपा एमालेको सरकारको पालामा हामीले ल्याण्डफिल साइट खोज्यौँ, त्यसले क्षमता अपुग भयो भनेर बञ्चरे डाँडामा अर्को ठाउँ खोज्यौँ, त्यसका लागि केपी ओली सरकारले १५ अरबको लगानीमा बनाएको हो र त्यहाँसम्म जाने बाटो त्यही बेला बनाएको हो, त्यो कुरा हामी नर्बिसौँ । यहाँका चोकहरूलाई सांस्कृतिक सम्पदा बनाउन विद्यासुन्दरजीले खेलेको भूमिका नबिर्सौँ । १५ अरब रुपैयाँ बचत गरेर उहाँ बिदा हुनुभयो ।

म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो ? सरकारले दिन्छ कति चाहियो ? हामी दिन्छौँ । सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउन तपाईँका योजना के छन् ? आउनुस् हामी सँगसँगै काम गरौला ।
तर उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन् । लाखौं युवाहरूले आफ्नो भविष्य, सपना तपाई मार्फत खोजेका हुन् । तर पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु ।
नेताहरू जेल बसेको कुरालाई तपाईले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ । त्यसवापत तपाई आज काठमाडौँ महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाईलाई तपाईले आज मजाक उढाउँने ?

हामी भन्न चाहन्छौँ, त्यो मानिस मात्रै देशभक्त हुन्छ जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, संस्कृतिप्रति गर्व गर्छ र आफनो देशप्रति गर्व गर्छ । आफ्नो इतिहास, संस्कृतिप्रति कसैले भत्र्सना गर्छ भने त्यो नागरिक कसरी देशभक्त हुन सक्छ ? आज केपी ओली जेल बसेको कुरालाई तपाईले उढाउँदै हुनुहुन्छ, म भन्न चाहन्छु, यस ढङ्गले तपाईले भण्डाफोर गर्ने हो भने यो त आफ्नै आमाको अस्तित्वमाथि तपाईले चिर्थोदै हुनुहुन्छ । यी नेताहरुले लडेर ल्याएको लोकतन्त्र हो । यीनै नेताहरुलाई बदनाम गर्दै हुनुहुन्छ । आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाएको जस्तो ।
बालनजीलाई म भन्न चाहन्छु तपाईको आमा पवित्र हुनुहुन्छ, तपाईको आमाप्रति शंका नगर्नुस तर तपाईँका गतिविधिले आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउँदै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ भने यो समाजलाई तपाई कता लाँदै हुनुहुन्छ ? तपाई काठमाडौँ महानगरको प्रमुख हो नभुल्न अनुरोध गर्दछु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर