नेपाल पुलिस क्लब द्धारा आर्मी क्लब पराजित

- जेष्ठ २३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विभागीय भलिबल समूहरुको भिडन्तमा नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेटमा जित निकाल्यो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी भाग्यशाली सावित बन्यो । पहिलो सेटमा आर्मी २७–२५ ले अघि रह्यो । दोस्रो सेट पनि उत्तिकै प्रतिस्पर्धात्मक हुदा पुलिसले २६–२४ को जित निकाल्यो ।
त्यसपछिको बाँकी सेटमा रविन चन्द र रविन नगरकोटीको सानदार प्रदर्शनमा पुलिसले २५–२१ र २५–१८ को सहज जित निकाल्यो ।
यस जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । पुलिसको ५ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको आर्मीको खेलबाट १२ अंक छ ।
पुरुषतर्फ सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । पहिलो सेट गुमाएको सुदुरपश्चिमले त्यसपछिको तीनै सेटमा जित निकाल्यो ।
सुदुरले कोशीमाथि १९–२५, २५–२१, २५–२२ र २५–१६ को सेटमा जित निकाल्यो । यसअघि सुदुर आर्मी, गण्डकी, पुलिस र हेल्प नेपालसँग पराजित भएको थियो । कोशीको भने यो लगातार पाँचौं हार हो । कोशीले पनि आर्मी, हेल्प नेपाल, गण्डकी र पुलिससँगै हार बेहोरेको थियो ।
महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।लगातार चौथो जितसँगै शीर्षस्थानमा उक्लिएको पुलिसको ११ अंक पुगेको छ । एक खेल कम खेलेको एभरेस्ट भलिबल क्लबको ९ अंक छ । कर्णालीले भने अंकको खाता खोल्न सकेको छैन ।
महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिममाथि ३–२ को पूनरागमन जित निकालेको छ । पहिलो र दोस्रो सेट २५–२७ र २०–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट क्रमश २५–१७, २५–२३ र १५–१२ को सेटमा आफ्नो पक्षमा पार्यो ।
दोस्रो जित निकालेको आर्मीले चार खेलबाट ६ अंक जोडेको छ । डायमण्डको यो लगातार चौथो हार हो । डायमण्डको चार खेलबाट २ अंक छ । आज नै पुरुषतर्फ हेल्प नेपाल र गण्डकी प्रदेश तथा एपिएफ र बुढानिलकण्ठबीच खेल हुनेछ ।
नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर