सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ को दुरुपयोग

- जेष्ठ २४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न आरोपमा सीआईबीले १० जनालाई थुनेर अनुसन्धान गरिरहेको छ । दोस्रो चरणको अनुसन्धानको क्रममा सुनको रकम भुक्तानी गर्दा मोबाइल वालेटको पनि दुरुपयोग भएको भेटिएको छ ।
अवैध सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ दुरुपयोग गरेको भेटिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले कासिन सँगको कुराकानी बताए ।

सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा राष्ट्र बैङ्कले दुई वटा मोबाइल वालेट कम्पनीको खाता रोक्का गरेको छ । अनामनगरमा कार्यालय रहेको पेवेल नेपाल प्रालि र बालुवाटारमा कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको कारोबार राष्ट्र बैङ्कले रोक्का गरेको हो ।

तस्कर समूहले दुई वटा मोबाइल वालेट कम्पनीमा पैसा डिपोजिट गर्थे । सो रकम वालेट कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्थे र दोस्रो समूहलाई भुक्तानी दिन्थे । एआईजी ज्ञवाली भन्छन्– ‘मोबाइल वालेट प्लेटफर्मको प्रयोग भएको अनुसन्धानबाट देखिएको छ ।’

दुई वटा वालेट कम्पनीले सुनको भुक्तानीबापत ३ अर्बको कारोबार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । एआईजी ज्ञवाली भन्छन्–‘३ अर्बको कारोबार देखिन्छ ।’
चिनियाँ सुन तस्कर दाओजिन वाङ सहितको समूहले ब्रेक प्याडमा लुकाएर ६० केजी सुन काठमाडौँमा ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो सुन कारोबारको रकम आन्तरिक रेमिट्यान्स तथा वालेटमा ब्यालेन्स लोड गर्ने नाममा अवैध कारोबार गरेर वालेट कम्पनीहरूले भुक्तानी गरेका हुन् ।
आन्तरिक रेमिट्यान्सको नाममा विदेशबाट आएको हुन्डी को पैसा उनीहरुले ग्राहकलाई भुक्तानी दिने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर