सीमा समस्याबारे विद्यमान संयन्त्र सक्रिय गर्नेे प्रस्तावमा प्रधानमन्त्री मोदी सहमत : मोदीलाई नेपाल भ्रमणको निम्तो

- जेष्ठ २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौंं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमण फलदायी रहेको दलले बताएको छ । समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको लागि भएको शपथ ग्रहण समारोहमा भाग लिन दिल्ली पुगेका प्रधानमन्त्री दाहालले दिल्लीमा रहँदा नेपालको बारेमा विभिन्न राष्ट्रपति द्रोपदी मुर्मु , प्रधानमन्त्री मोदी सँग भेटघाट गरेका थिए । भेटका क्रममा विगतका सहमति र सम्झौता कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सञ्चालन गर्न गरेको प्रस्तावमा भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिएका थिए । आइतबार भएको साइडलाइन वार्तामा आफूले राखेको प्रस्तावमा भारतीय समकक्षी मोदी सहमत भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसँग भएको अलग–अलग भेटवार्तामा दुवै देशका हितका विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली आएका प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय तुल्याउनेदेखि सीमा र पारवहनसँग जोडिएका विषय समाधानका लागि सकारात्मक छलफल भएको बताए । ‘मोदीजीसँग एक्लाएक्लै छलफल हुँदा मैले दुई देशका सबै संयन्त्र सक्रिय बनाउन र बैठक सञ्चालन गर्न विशेष जोड दिएको छु । यो भनिसकेपछि सीमालगायतको कुरा आइहाल्छ,’ प्रधानमन्त्री दाहालले भने । परराष्ट्रसचिवस्तरीय बैठकमा सीमा विवाद समाधान गर्न नेपाल र भारत सैद्धान्तिक रूपमा सहमत भए पनि संयन्त्र सक्रिय छैन ।

प्रधानमन्त्री दाहालले सीमा समस्याबारे विद्यमान संयन्त्र सक्रिय गर्ने आफ्नो प्रस्तावमा प्रधानमन्त्री मोदी सहमत देखिएको बताए । ‘अघिल्लो भ्रमणमा भएका सहमति, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा भएको विद्युत् निर्यात सम्झौतालगायतको विषयमा गहन छलफल भयो । व्यापार पारवहनका विषयमा छलफल ग¥यौँ,’ दाहालले भने, ‘मोदीजी उत्साही हुनुभयो । दुई देशबीच सहकार्य थप बढाएर लैजाऊँ भन्नेमा उहाँको पनि जोड थियो । सीमाबारे विद्यमान संयन्त्र सक्रिय गरौँ भनेको छु । उहाँ सहमत हुनुभयो ।’
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउने सैद्धान्तिक सहमति पहिले भइसकेको र बाँकी अब थोरै विषय टुंग्याउनुपर्ने प्रचण्डको प्रस्ताव थियो । कृषिमा नेपाललाई सहयोग गर्ने मोदीको वचन थियो । यसबारे अध्ययनका लागि एउटा टोली भारत पठाउने सहमति भएको प्रधानमन्त्री दाहालले बताए ।

मोदीलाई नेपाल भ्रमणको निम्तो
भेटवार्तामा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेको र उपयुक्त समयमा भ्रमण गर्ने सकारात्मक जवाफ प्राप्त भएको पनि प्रधानमन्त्री दाहालले बताए । दाहालले तेस्रो कार्यकालको पहिलो द्विपक्षीय औपचारिक भ्रमणका लागि आग्रह गरेको बताए । ‘उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने सकारात्मक प्रतिक्रिया दिनुभएको छ, भन्न त उहाँले अहिले इटालीमा जी– ७ को बैठक भएकाले उता गएर मात्र नेपाल आउन सक्छु पनि भन्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । मोदी बिहीबार इटली जाँदै छन् । अर्को सन्दर्भमा दाहालले नेपालको राजनीतिक समीकरण फेरबदलले भारतसँगको सम्बन्धमा फरक नपर्ने बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा आइतबार सहभागी भएका उनी सोमबार व्यस्त भेटघाटमा सक्रिय रहे । स्वदेश फर्किनुअघि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरे । राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी हुनुअघि आइतबार उनले उपराष्ट्रपति जगदीप धनखड तथा प्रधानमन्त्री मोदीसँग भेटघाट गरे ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर