कस्तो छ आईसीसी टी–२० विश्वकपमा अनुभवी र प्रभावशाली खेलाडी दीपेन्द्रको क्रिकेट जीवन ?

- जेष्ठ २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

टी–२० मा सर्वाधिक रन बनाउने मामलामा शीर्ष स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी नेपालको सुदूरपश्चिम प्रदेशमा जन्मिएका एक दुर्लभ खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले अपडेट अनुसार दीपेन्द्र ४४ औँ बाट ४३ औं स्थानमा उक्लिएका छन्।

नेपाली राष्ट्रिय टोलीका अनुभवी र प्रभावशाली खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक उनकै उत्कृष्ट प्रदर्शनका कारण टोलीले सफलता हात पारेको छ ।

२४ वर्षीय दीपेन्द्रको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै आक्रामक । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले राष्ट्रिय टोलीबाट हालसम्म एक सय १९ खेल खेलिसकेका छन् ।

दीपेन्द्रले ५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ६४ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ५३ पालीमा उनले १९.०६ को औसतले कुल ८ सय ९६ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको स्ट्राइक रेट ७१।२२ रहेको छ । उनले बनाएको उच्च स्कोर भने एक सय पाँच रन हो । यस क्रममा उनले एक शतक र तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले ७७ चौका र १२ वटा छक्का पनि हिर्काएका छन् । उनले २७ वटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ५६ पालीमा ३८।७१ को औसतले कुल एक हजार ६ सय २६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १४६।७५ रहेको छ । उनको उच्च स्कोर भने अविजित एक सय १० रन हो ।

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एक शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय २६ चौका र ६८ वटा छक्का पनि हिर्काएका छन् । उनले २८ वटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ३८ वटा विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर तीन विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा पनि उनले ३७ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर