मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकले गरे बचतकर्ताको २ अर्ब ठगी

- जेष्ठ ३०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

देशमा अहिले सहकारी अपचलन काण्डले चरम बाटो लिन थालेको छ । आफना सेवाग्रहीहरुको जम्मा गरेको रुपैयालाई उनीहरुको हातमा पुग्न छोडेको छ ।
यसैको पछिल्लो उदाहरण बनेको छ बालाजुको माछापोखरीमा केन्द्रिय कार्यालय रहेको ‘मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था’ जसका सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको समाचार बाहिरीएका छन् ।
प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान अनुसार मेगा ड्रिम सहकारी अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, लेखा समिति संयोजक उमाकान्त न्यौपाने र सञ्चालक शेखर बस्नेतले संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत जग्गा किनेको, ऋण लिएर नतिरेको तथा निजी कम्पनीमा समेत लगानी गरेको खुलेको छ ।
प्रहरी वृत्त बौद्धले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त सहकारी अध्यक्ष रेग्मीसहित १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । सहकारी संस्थाका १ सय ६१ बचतकर्ताको २१ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबर मागदाबी परेको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले प्रतिवादीहरू वासुदेव भट्ट, ईन्द्रप्रसाद गेलाल, शरदकुमार अधिकारी, महाशंकर रेग्मी, रविनकुमार कार्की, शेखर बस्नेत, राजकुमार श्रेष्ठ, उमाकान्त न्यौपाने, प्रकाश घिमिरे र सुभद्रा चौलागाईंले २१ करोड ५६ लाख ९४ हजार ठगी गरेको देखिएको भन्दै अदालतमा मुदा दायर गरेको हो ।
प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सजाय गरी जाहेरीकर्ताको मागदाबी समेत उपलब्ध गराउन माग गरिएको छ ।
कार्यालयले सहकारी सचिव ईन्द्रप्रसाद गेलाल, उपाध्यक्ष वासुदेव भट्ट, सञ्चालक शरदकुमार अधिकारी र पूर्वअध्यक्ष तथा लेखा समिति संयोजक उमाकान्त न्यौपानेलाई प्रतिवादी बनाएको छ ।

यस्तै हाल फरार प्रतिवादीहरू सहकारी अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, सञ्चालकहरू शेखर बस्नेत, राजकुमार श्रेष्ठ, लेखा सुपरीवेक्षण समिति सदस्यहरू प्रकाश घिमिरे र सुभद्रा चौलागाईंलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूका हकमा अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ ।

पछिल्लो डेढ वर्षदेखि सहकारीको कार्यालय तथा सेवा केन्द्र बन्द गरेर अध्यक्ष तथा व्यवस्थापक फरार थिए ।
बौद्ध प्रहरी वृत्तले १ जेठमा सहकारी व्यवस्थापक तथा सञ्चालक समिति सचिव ईन्द्रप्रसाद गेलाल, उपाध्यक्ष वासुदेव भट्ट र सञ्चालक शरदकुमार अधिकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । यसैबीच सहकारीको लेखा सुपरीवेक्षण समिति संयोजक उमाकान्त न्यौपानेलाई समेत पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
सहकारीमा काम गरेका एक कर्मचारीका अनुसार विभिन्न सेवा केन्द्रमा कर्मचारी तथा आफन्त समेतलाई उच्च ब्याजको प्रलोभन दिएर बचत संकलन हुने र संकलित बचत सोही सेवा केन्द्रमार्फत लगानी भए पनि अन्य रकम भने केन्द्रीय कार्यालयमा ट्रान्सफर हुने गरेको थियो ।
बौद्ध प्रहरीले अनुसन्धान गरे पनि प्रहरीमा उजुरी दिन गएका पीडित बचतकर्ताको उजुरी समेत नलिई अनुसन्धान प्रतिवेदन बुझाएको ती कर्मचारीले बताएका छन् ।प्रहरीले २१ करोड रुपैयाँ मागदाबीको रायसहितको प्रतिवेदन पठाए पनि सहकारीमा बचतकर्ताको २ अर्बभन्दा धेरै रकम अपचलन भएको देखिन्छ ।

सहकारी अध्यक्ष महाशंकर रेग्मीले संस्थाको रकम सबैभन्दा धेरै दुरुपयोग गरेको ती कर्मचारीले बताए । महाशंकरका भिनाजु जीवन ओझाको नाममा ५ करोड ऋण दिइएको छ । उनी शुक्रपथ सहकारीमा प्रमुख कार्यकारी अधिकृत भएर समेत काम गरेका थिए ।

चोभारमा जग्गा रहेको भन्दै हुपील्यान्ड भन्दा पछाडि नेपाली सेनाले प्लानिङ गरेको सँगै रहेको जग्गा पनि देखाउने गरेका थिए । पछिल्लो समय सहकरी सचिव ईद्रप्रसाद गेलालले त्यसमा ऋण लगानी गरेको बताउँदै आएका थिए ।

उक्त जग्गामा सहकारीको १६ करोड लगानी रहेको संस्थाका कर्मचारी बताउँछन् । ‘संस्थाका नाममा उक्त जग्गा छैन । सञ्चालकहरूले अन्य व्यावसायिक साझेदार र आफन्तका नाममा विनाधितो ऋण देखाएर उक्त जग्गामा लगानी गरेका हुन्,’ एक कर्मचारीले भने, ‘उक्त जग्गा बिक्री गर्दा ३० करोड रकम आउने र त्यसबाट बचत फिर्ता गर्ने भनेर सहकारीका सञ्चालकले बचतकर्तालाई आश्वासन देखाउँदै आएको थिए ।’
उनका अनुसार उक्त जग्गा सहकारी अध्यक्ष महाशंकरका व्यावसायिक साझेदार गुरु तिमल्सिना, निरहरि उपाध्याय, महाशंकरका भिनाजु जीवन ओझा लगायतका नाममा छ ।’
निरहरि उपाध्याय काठमाडौं न्युरोडमा रहेको शुक्रपथ सहकारीका पूर्वअध्यक्ष हुन् । जीवन ओझा शुक्रपथ सहकारीका कार्यकारी सचिव हुन् । मेगाड्रिम सहकारीका सचिव ईन्द्रप्रसाद गेलालले विगतमा शुक्रपथ सहकारीमा समस्या हुँदा व्यवस्थापक भएर काम पनि गरेका थिए ।

त्यसबेला शुक्रपथमा समस्या हुँदा मेगाड्रिमबाट नै अन्तरसहकारी फन्ड ट्रान्सफर गरेर समस्या समाधान भएको संस्थामा काम गरेका कर्मचारीहरू बताउँछन् ।
धकांश ऋणीले ऋण चुक्ता नगर्दा अदालतमा मुद्दा दायर गरेको उनको बयान छ । ‘अध्यक्ष महाशंकर रेग्मीले आफैं लिएको ७ करोड ऋण तिरेका छैनन्,’ उनले बयानमा भनेका छन् ।
अध्यक्ष रेग्मीले काठमाडौं दहचोकमा जग्गा किनेको सहकारी सचिव गेलालले आफ्नो बयानबाट पुष्टि गरेका छन् । यस्तै सहकारी अध्यक्ष रेग्मीको नाममा चितवन तथा उनकी श्रीमती चण्डिका हुमागाईं रेग्मीको संयुक्त नाममा चोभारमा पनि जग्गा रहेको उनको बयान छ ।
सहकारी कोषाध्यक्ष रविनकुमार कार्कीले लिएको ५ करोड ऋण भुक्तानी नभएको सचिव गेलालले बयानमा बताएका छन् । जोरपाटीस्थित लिम्पिया इन्टरनेसनल स्कुलमा समेत सहकारीका तर्फबाट करिब ८ करोडको सेयर रहेको उनको बयान छ ।
सोही स्कुलको सेयर बिक्री गर्ने योजनामा रहेका सञ्चालकहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सिभिलमा खटिएको टोलीले ग्राहक बनेर पक्राउ गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर