एक खुट्टाले पूर्ण रुपमा काम नगरे पनि अहिले एक सफल उधमी बनेकी पार्वती

- असार १०, २०८१ मा प्रकाशित


 

कासिन न्यूज,
सुर्खेत ।
शारीरिक रुपले अशक्त भएपनि उनलाई आफनो लक्ष्य प्राप्तीको लागि केही फरक परेन । उनको एउटा खुट्टाले पूर्ण रुपमा काम नगरे पनि उनी अहिले एक सफल उधमी भएकी छिन् ।
सुर्खेतको विरेन्द्रनगरमा आफनो व्यवसाय सञ्चालन गरेर बसेकी पार्वती गौतम ४३ ले जीवनमा धेरै संर्घष गरेकी थिइन । सानै उमेर देखी अपाङ्गता भएकी गौतमको बाल्यकाल पनि निकै संर्घषपूर्ण रहेको थियो । कक्षा पाँचसम्म मात्र अध्ययन गरेकी अपाङ्गताको कारणले गर्दा शिक्षा बाट टाढा हुनुपर्यो ।
आफनो पढाइप्रति कसैले चासो दिन्थेनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ उनले भनिन ।
गौतमको परिवार बसाइँ सरेर विसं २०५२ सालमा काठमाडौँ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एकजनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उनले सिलाइको काम सिकिन ।
विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी सीपले जिविका चलाउने सोच बनाएकी पार्वतीले सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले आफनो कामको प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुप¥यो,” उनले आफनो बिगत सुनाइन ।
जब सुर्खेतका योगेन्द्र पुरीसँग उनको विवाह भयो । त्यसपछि एकाएक उनको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किएका पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहेकी पार्वतीले श्रीमान्को सहयोग पाइन । पार्वती र उनको श्रीमान सुर्खेत आए । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उनीहरुमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उनीहरु सँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उनीहरुले जीवनदेखि हार खाएनन । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाइन अनि केही सङ्घसंस्थाहरुको सहयोगमा उद्यमशीलतासम्बन्धी सीप सिकिन ।

उनले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिकिन । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाइन । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । “सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उनले भनिन ।
अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उनलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गरिन । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुखमा अभाव भोग्नुभएका उहाँहरुको जीवनमा नयाँ खुसी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उनीहरुले वीरेन्द्रनगरमा घर बनाइन । अहिले उनले मासिक रु ५० हजारभन्दा धेरै कमाउछिन । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन ।

उनले भनिन , “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उनी अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहेकी छिन । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहेकी छिन् । त्यसका लागि उद्योग दर्ता भै सक्यो ।
“सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन्,” उनले भनिन , “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।”

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर