चिरबिर गरेका चराहरु शान्त भए, सुनसान सुरु भयो

- असार १८, २०८१ मा प्रकाशित


अमरप्रकाश तिवारी

१८,असार ।
काठमाडौँको मुटुमा, जहाँ प्राचीन मन्दिरहरू शताब्दीयौँको परिवर्तनको मौन साक्षीका रूपमा ठिङ्ग उभिएका थिए । असारे झरीको पौष्टिकता पाएर नै होला मन्दिरहरूका छत वरिपरी हरिया लहरा त्यसै लहराइरहेका थिए । झिसमिसे उज्यालो नहुदै खोलिएको भट्टी पसल र नजिकै रहेको चिया पसलहरुमा स्थानीयहरूको बकबक र त्यहाँ आडमा रहेको रूख संगै चराहरुको चिरबिर गुन्जिएको थियो । झरीमा भट्टीमा छिरेरअलिकति नुन र लसुन साथै गिलास माग्नेको रबाफ र संगैको चिया पसलमा चुरोटको धुवा उडाउँदै मसला चियाको बाफिलो कप सुरुप्प पर्नेहरुको गफ लगभग मिल्दो जुल्दो थियो । आडैको रूखबाट भने अलि फरक आवाज आएको थियो ।
आज विशेष बिहानको कुराकानीमा भट्टीको चाही अलि चर्को आवाज सुनिन्थ्यो । सम्बृद्धि संगै गणतन्त्रको स्थायीत्व माथि नै प्रश्न गरिदै थियो । उता आकास तिर चुच्चो मुख बनाएर धुवाँ उडाउदै अब जन चाहना अनुरुप मूल कानून परिवर्तन गरी जनताको स्वतन्त्रतामाथि अंकुश लागाउनु पर्ने कुरोमा जोड दिदै थिए, कुरो गहिरो थियो, तानाशाह को पालामा जस्तै गर्नु पर्ने रायहोला सायद । तर एकनास रूख बाट आएको चिरबिर निरन्तर नै थियो, निष्पक्ष एकोहोरो चिरबिर गुन्जिनै रहेको थियो ।
अली अली होस् गुमेकहरुको भने, त्यहाँ चिन्ता अर्कै सुरुभयो, अब भोट के हाल्ने होला?

उत्सुकताका साथ् कुरो फेरी भोटमा अल्मलियो के मा हाल्ने भन्ने अर्को अन्यौल छायो। आफ्नो तीक्ष्ण राजनीतिक अन्तर्दृष्टिका लागि परिचित भट्टी र चिया पसलमा यस्तै टिप्पणी चल्दै रह्यो । आवाज बुलन्द भयो सायद अब हामीले यस देशमा केही वास्तविक प्रगति देख्नेछौँ, अलिकति कता कता आशा पनि जागेको कुरो आयो । तर के उनीहरूले वास्तवमै जनताका लागि मिलेर काम गर्नेछन् त ? वा यो शक्तिको अर्को खेल मात्र हो? चर्को भट्टीको यो स्वरले नजिकैको चिया पसलमा रहेका सबैको कान ठाडो पार्यो । अर्को तर्फ भने चिरबिर गर्दै रहेका चराहरुले हाँगा परिवर्तन गरे । र अनि ति चराहरु शान्त संग बसे । सायद चिरबिरका आवाज उज्यालो संगै बिस्तारै बिलय हुदै गयो होला ।

उज्यालो अलि धेरै नै भयो । यसैबिच, बाहिरका सडकहरूमा समृद्धि र एकताको बाचा गर्दै बेरोजगारको हुल जम्मा हुदै राजनीतिका नारा जुलुस सुरु गरे । “हाम्रो एकता जिन्दावाद, परिबर्तन सम्भब छ” । बिहान अझै बाक्लिएको थियो, सूर्यले तेजिलो प्रहार गरेको थियो, पानि रोकिएको थियो । एउटा र्यालीले मुख्य चोक भरिएको थियो । समर्थकहरूले नयाँ एकीकृत पार्टीको लोगोले भरिएको झण्डा फहराए र परिवर्तनका लागि नारा लगाउँदै थिए । नारा गजबको घन्किएको थियो । “यो मिलनले हामीलाई आशा दिन्छ“, आवाज चर्को थियो । यता भने रूखमा शान्ति छाउदै गयो ।
आज बाट हाम्रो एकता भयो । भट्टी पसल र चिया पसलको पनि एकता भयो । अब चिया पिउने र गिलासमा नुन/लसुन संगै पिउनेको पनि एकता भयो । यता भट्टी र चिया पसल बन्द गरेर इतिहासको साक्षी बन्न उत्सुक हुँदै सबै त्यहि भिडमा सामेल भए । नेपालको राजनीतिक परिदृश्य फेरि एक पटक परिवर्तन भयो।

एकीकृतको सन्देशले भविष्यका लागि आफ्नो दृष्टिकोणको रूपरेखा बनाउन थाल्यो–आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना गर्ने र मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्ने उद्देश्यले सामाजिक कल्याण कार्यक्रमहरू बनाउने नारा सहित भाषण ठोक्न थाले । भाषणमा भब्य ताली बज्यो, कतिले गिलासको तालमा तालि बजाए त कतिले चियाको । तालीको वर्षा हुन थाल्यो ।
फेरी नयाँ कुरो आएन भाषणमा, उही पुरानो गीत, विगतमा पूरा नगरिएका प्रतिबदता सबै पुरा गर्ने प्रतिज्ञाहरू, ताली तरतर…. तर । भिड तालि ठोक्न थाले । तालीको आवाजले ति बिचरा चराहरु उड्न थाले, सायद डरले हुनु पर्छ, की गोला बारी भयो की भन्ठानेका होलान, या उनीहरु लाई नै ताकेर बन्धुक हाने कि भन्ने बुझे, खै के… ।
बिस्तारै साँझ ढल्कियो, सुर्य लुक्न थालेको थियो । चराहरु पुनः उही रूखमा फर्किए ।

अगाडी भट्टी र चिया पसल बाट निस्केको त्यो भिड पुनः फर्कियो , सोही ठाउँमा यथा स्थानमा फर्किए । चराहरु चिरबिर गर्न थाले, भट्टीमा फेरी चर्को स्वर सुरु भयो, चिया पसलमा पुनः उही कुरो आउन थाल्यो । झिलिमिलीरातमा प्राचीन मन्दिरहरू शताब्दीयौँको परिवर्तनको मौन साक्षीका रूपमा ठिङ्ग उभिएका थिए । फेरी वर्षा हुन थाल्यो, असारे झरीको पौष्टिकता पाएर नै होला मन्दिरहरूका छत वरिपरी हरिया लहरा त्यसै लहराइरहेका थिए, स्तब्द । फेरी त्यस्तै, केहि हुने आसमा । चिरबिर गरेका चराहरु शान्त भए, सुनसान सुरु भयो ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर