रोल्पा दुर्घटना : मृत्यु हुनेको संख्या सात

- असार १८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
लुम्बिनी ।
रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरा नजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छ जनाको पहिचान भएको छ भने एकजना बालिकाको पहिचान भएको छैन ।
दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी – ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशङ्का गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको जनाइएको छ । चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको हुनसक्ने आशंका गरिएको छ ।

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो । जिपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा जिपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ । तालाबाङ गाउँ शोक परेको छ । जिप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर