‘स्वर्गीय आनन्द’को घिड्किसो : नेता देखी योगी सम्म यौन दुराचारको चक्करमा

- असार १९, २०८१ मा प्रकाशित


कुसुम भट्टराई,
१९, असार ।
इन्द्रकी अप्सरा मेनकाले ऋषि विश्वामित्रको तपस्या भंग गरेको कथा प्रचलित छ । शास्त्र पुराणमा सुर (सँगीत), सुरा (मदिरा) र सुन्दरीलाई भोगको चरम साधनका रुपमा व्याख्या गरिएको छ ।
यसैलाई ‘स्वर्गीय आनन्द’ पनि भनिएको छ । देउताका राजा इन्द्रको स्वर्गलोकमा सुर, सुरा र सुन्दरीकै छेलोखेलो हुने भएकाले मत्र्यलोकका मानिस मरेपछि ‘स्वर्ग जाने’ सपना देख्छन् । स्वर्ग अर्थात दुःखरहित भोगको चरम आनन्दको यस्तो लोक, जहाँ खुसी नै खुसी छ ।

जस्तै ‘लिटिल बुद्ध’का नामले प्रख्यात ‘तपस्वी’ रामबहादुर बम्जन यतिबेला यौन दुराचारीका रुपमा कुख्यात भएका छन् । यौन दुराचार कसुरमा उनले अब दश वर्ष जेलको हावा खानेछन् । एउटा प्रख्यात ‘तपस्वी’लाई कुख्यात बनाउने काम केले ग¥यो त ? उही, यौनले । उही काम वासनाले । भारतमा आशाराम बापु, बाबा रामपाल, बाबा रामरहीम, जैन मुनी श्यामसुन्दर महाराजदेखि कृपालुजी महाराजसम्म यौन दुराचार कान्डमा मुछिएका छन् । बोलीमा योग, व्यवहारमा भोग ।
आफुलाई शिद्ध पुरुष, परमहंश, योगी, तपस्वी, बोधीसत्व ज्ञानी, चिन्मयानन्द आदि दावी गर्ने बाबाहरुको यस्तो चर्तिकलाबारे बेलाबेलामा खबरहरु आइरहन्छन् ।
आश्रमभित्रै पाँचतारे स्तरको भव्य अनि गोप्य शयन कक्ष निर्माण गरेर साधिका या भक्त महिलालाई उपचार या कल्याणका नाममा यौन शोषण गर्ने ढोंगी र पाखण्डी बाबाहरुकै कारण धार्मिक र आध्यात्मिक क्षेत्र बदनाम छ ।

बाबा राम रहिमले खुफीया हिसाबले रासलिला खातिर भव्य सेट नै डिजाइन गरेका रहेछन् । बाहिर गीत गाउने, चलचित्रमा अभिनय पनि गर्ने, वाहवाही पनि पाउने, भूमिगत रुपमा चाँही रासलिला रचाउने । अतृप्त प्यासको तृप्तीका खातिर अनेक फन्डा अपनाउने ।
भण्डाफोर त हुनै थियो, भयो । वासना अति नै छचल्किएपछि ‘तपस्वी बम्जन’देखि ‘सन्त मुरारी’ बापुसम्मका हर्कत प्रकाशमा आए । उनीहरु पक्राउ परे । आखिर वासना व्यवस्थापनको गलत तौरतरिकाले पु¥याउने भनेको जेलमै हो ।

योगी, तपस्वीको ढोंग र पाखण्ड प्रदर्शन नगरी ‘म एक नारी ब्रम्हचारी हुँ’ भनेर दाम्पत्य जीवन बिताएको भए पनि बाबाहरुको क्रेज समाप्त हुने थिएन होला । मनोक्रान्ति पथका योगी विकासानन्दलाई हेरौं, उनी बकाईदा दाम्पत्य जीवनमा छन् र ब्रम्हचर्यको पाखण्ड पनि प्रदर्शन गर्दैनन् । गृहस्थ आश्रम, सन्यास आश्रम, बानप्रस्थ आश्रम आदि यौगिक मार्गकै पडावहरु हुन् । बाबाहरुले यो मार्ग अपनाएको भए आज यसरी खोरमा जाकिनुपर्ने थिएन ।
सम्यक सम्भोगले साधनामा कुनै अवरोध सिर्जना गर्दैन, ‘यौन दुव्र्यसनी’ भएमा चाँहि मानिस पतित हुने हो । बाबाहरुले यही कुराको हेक्का राखेनन् र फँस्न पुगे ।

कम छैनन कमरेडहरु
गत निर्वाचनताका काठमाडौंका पूर्व मेयर केशव स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मीला प्रजापति र पत्रकार उज्जला महर्जनले यौन दुराचारको आक्षेप लगाए । वर्ष २०७५, कार्तिक ४ मा प्रजापतिले प्रदेश नम्बर ३ का तत्कालीन मन्त्री स्थापितले ‘नगरकोट घुम्न जाने र क्वालिटी टाइम बिताउने’ प्रस्ताव राखेर गाडीसमेत पठाएको सामाजिक संजालमार्फत खुलासा गरिन् । स्थापितको दुर्नियतपूर्ण प्रस्ताव अस्वीकार गर्दा आफ्नो जागिरसमेत गुमेको उनले स्पष्ट पारीन् ।

पत्रकार उज्जला महर्जनले अंग्रेजी दैनिक ‘रिपब्लिका’मा कार्यरत रहँदा स्थापितसँग अन्तर्वार्ता लिएर फर्केको भोलीपल्ट स्थापितले आफुलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखेको स्पष्ट पारिन् । ‘जब साँझ पथ्र्यो, स्थापित मलाई फोन गरिरहन थाले । एक/दुई पटक त उठाएँ, तर पछि बेवास्ता गरेँ । उनको फोन उठाउन छाडेँ’, उज्जलाले खुलाएकी थिइन् ।
साहित्यकार राजवको उपन्यास ‘भूमिगतलिला २०३२’ मा तात्कालीन नेकपा(माले)का कतिपय नेताहरुको यौन चर्तिकला असरल्ल छ । भूमिगत कालमा सेल्टर दिने घरकै नारीमाथि कमरेडहरुबाट भएको यौन शोषणबारे उपन्यास केन्द्रित छ । उपन्यास करीब करीब सत्य घटनाहरुमा आधारित छ ।

अर्घाखाँचीकी शारदा भुसालको आत्मवृत्तान्त ‘धरातल’मा कम्युनिष्ट नेता मोदनाथ प्रश्रीतले आफ्नो बलात्कार गरेको दावी गरिएको छ । श्वयम्भुस्थित कोठामा मोदनाथले पटक–पटक आफ्नो बलात्कार गरेको शारदाको पुस्तकमा उल्लेख छ ।
महिलामाथि यौन दुराचार गरेकै कारण सुदूरपश्चिम प्रदेशका तात्कालीन सामाजिक विकास मन्त्री कमरेड दीर्घबहादुर सोडारीको मन्त्री पद नै गुम्न पुग्यो । तात्कालीन नेकपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन ग¥यो । एक महिलालाई टेलिफोनमा जथभावी अपशब्द बोलेको अडियो रेकर्ड बाहिर आएपछि उनी फँसेका थिए ।

माओवादीभित्र यानप्रसाद गौतम ‘आलोक’माथि पनि ‘यौन विचलन’को आरोपमा कारबाही चलाइएको थियो । काभ्रेकी माओबादी नेतृ रुकु चौलागाईंसँगको सम्बन्ध पर्दाफास भएपछि उनी कारवाहीको चपेटामा परेका थिए । अर्का नेता हरिबोल गजुरेल ‘शितलकुमार’ले पनि यौन विचलनको आरोपमा कार्वाही भोगीसकेका छन् ।
तात्कालीन सभामुख कृष्णबहादुर महरा वर्ष २०७६, कार्तिकमा पक्राउ परे । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा उनी सभामुख निवासबाटै पक्राउ परेका थिए । तिनकुनेस्थित कोठामा पुगेर महराले रोशनीमाथि बलात्कार गरेको दाबीसहितको समाचार विभिन्न अनलाइन माध्यममा प्रकाशित भएका थिए ।

वर्ष २०५७ मा अखिल क्रान्तिकारीका तात्कालीन अध्यक्ष कृष्णध्वज खड्कालाई एक महिला विद्यार्थी नेतृमाथि यौनदुव्र्यवहार गरेको आरोपमा पार्टीबाट ६ महिनाका लागि निश्कासीत गरेको थियो । वर्ष २०६४ को संविधानसभा निर्वाचनमा पर्वत–२ बाट निर्वाचित माओवादी नेता गुणाखर बस्याल काठमाडौँ नयाँ बसपार्कमा एक होटल सञ्चालिकासँगै पक्राउ परे । यो घटनाले बस्यालको राजनीतिक जिवन नै चौपट पारिदियो ।
बाबा र कमरेडहरुका यस्ता यौन काण्डबाट के स्पष्ट हुन्छ भने यौन चाहनालाई यथोचित, सम्यक र सहज व्यवस्थापन गर्न नसक्दा र अनावश्यक पाखण्ड प्रदर्शन गर्दा कामुक मानिसहरुले कुनै न कुनै दिन बेइज्जेतीको सामना गर्नुपर्नेछ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर