प्रस्तावित निर्वाचन आयुक्त बिरुद्ध परेको पाँचवटै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित

- असार १९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
असार २ गते बसेको संवैधानिक परिषदको बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र पाएपछि संसदीय सुनुवाइ समितिले प्रधानविरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

मंगलबार सुनुवाइ समितिले प्राप्त उजुरीहरु समितिका सदस्यहरुलाई वितरण गरेको छ । सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रस्तावित आयुक्त प्रधानविरुद्ध प्राप्त उजुरीहरुमाथि बिहीबार समितिमा छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिमा प्रधानविरुद्ध पाँच वटा उजुरी परेका छन् । पाँचवटै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित रहेको छ । प्रधान नेपाल कानुन आयोगको कार्यकारी निर्देशक हुँदा एक महिलालाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् ।

अरु चार आरोप पनि यही आरोपसँग सम्बन्धित छ । कार्यालयमा जागिर खोज्दै आएकी एक महिलालाई इन्छाविपरीत यौन सम्पर्क गरेको र घटना मिलाउन एक करोड रुपैयाँ दिएको पनि उजुरीमा उल्लेख छ । प्रधानको दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंग्याएको भन्दै पीडित महिलाले उनलाई निर्वाचन आयुक्त बनाउनु उपयुक्त नहुने भन्दै सुनुवाइ समितिमा निवेदन दिएकी छन् ।

संविधानको धारा २४५ को उपधारा ६ मा आयुक्त हुने व्यक्ति ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने भनिएको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ५ मा पनि यही व्यवस्था छ । जहाँ संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गर्दा नै सम्बन्धित व्यक्तिको चरित्र ख्याल गर्नुपर्ने भनिएको छ ।
‘कुनै व्यक्तिलाई नियुक्तिको लागि सिफारिस गर्दा निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई विचार गर्नु पर्नेछ’, ऐनको दफा ५ (२) मा उल्लेख छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर