साताको कारोबार रकम १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढीले बृद्धि

- असार २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सातामा पाँच कारोबार दिन बजार सञ्चालन हुँदा २२ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको ६ करोड ७२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएको हो । कित्तामा पनि यो साता १ करोड ९९ लाखभन्दा बढीको वृद्धि देखिएको छ ।

गत साता भने २१ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ४ करोड ७३ लाख ३३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा पनि यो साता २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको ३९ लाख ९१ भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । नेप्सेका अनुसार यो साता औसतमा ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको १ करोड ३४ लाख ५८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साता यो कारोबार ४ अर्ब २८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको ९४ लाख ६६ हजारभन्दा बढी कित्ता थियो ।

सोमवार कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएसँगै मंगलवार बजारमा उछाल आएको थियो ।उक्त दिन बजार ४७ दशमलव शून्य ४ अंकले बढेर बन्द भएको थियो । दुई पटक सर्किट ब्रेकर लगाएर कारोबारको अन्तिममा भने बजार सम्हालिएको थियो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३ दशमलव ३० प्रतिशत अर्थात् ६७ दशमलव ७८ अंक बढेर २ हजार ११९ दशमलव ७० विन्दुमा पुगेको छ ।

पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक पहिलो कारोबार दिन १४ दशमलव ८३ अंकले घटेको थियो भने त्यसपछिका चार कारोबार दिन लगातार बढेको छ । पछिल्लो समय छोटो अवधिमै लगानीकर्ता नाफा बुक गर्न सक्रिय रहेको अवस्थामा आगामी साता नाफा बुकको असर केही दिन बजारमा पर्ने भए पनि लगानीकर्ताको उत्साह कायम रहने विश्वास ब्रोकरहरूको छ ।

यो साता धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख रुपैयाँभन्दा बढी थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण १ खर्ब ८ अर्ब ४७ करोड १३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर