बढ्यो बागमती : काठमाडौंमा बागमती छेउ रहेका सडकहरु डुबानमा

- असार २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।    यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।
उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुवानमा परेको छ । ती टहरामा बस्ने ५६ जनालाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए ।

उनका अनुसार हनुमन्ते खोलाले राममन्दिर क्षेत्रमा पनि केही टहराहरु डुवानमा परेको छ । जलसतह बढ्ने क्रममा रहेकाले नदी किनारका बस्ती क्षेत्रमा सतर्कता अपनाइरहेको उनले जानकारी दिए ।वाग्मतीमा आएको बाढीका कारण करिडोर सडकहरुसमेत जलमग्न भएको छ । ललितपुरको युएन पार्क क्षेत्रको करिडोर सडकसमेत बाढीले डुबाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर