बनबासा पुलमा सवारीसाधन चलाउन बन्देज : खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

- असार २३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
महेन्द्रनगर /खलङ्गा ।
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए ।

आइतबार बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उनले भने। शनिबार साझँ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाउपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

त्यस्तै बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।

पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।

आइतबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ । यसैबीच भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगङ्गा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ ।
बाँधको ढोका खोलेका बेला महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको उनले बताए । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाव बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यसअघि यही सार १५ गते पनि उक्त बाँधको ढोका खोलिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर