बाढी बस्तीमा पसेपछि विस्थापित परिवार हुलाकी सडकमा

- असार २४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
टीकापुर ।
लगातार परेको पानीका कारण अहिले कैलाली जनजीवन पूर्णरुपले प्रभावित हुन् थालेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारेको जानकारी आएको छ ।
स्थानीयवासिन्दा कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् ।

“निरन्तरको परेको पानीले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्”, उनले भने , “कतिपय आफन्तकोमा बसिरहेका छन् ।” बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिइन ।

“बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ”, उनले भनिन , “वडा वडामा रहेका विपद् व्यवस्थापन समिति र पालिकाले तालिम दिएका स्वयंसेवक खोज तथा उद्धारका लागि समुदायमा परिचालन गरेका छौँ ।” कर्णाली नदीमा पानीको सहत बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् । त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएकोे जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताइन ।

जानकीका अधिकांश वडा जलमग्न भएका छन् भने केही घरपरिवा विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेका बताए । “वडा नं ४ को गिरधरपुरमा ११ परिवार बसेका छन् । वडा नं ७ को फरेलामा १५ परिवार बसेका छन”, जैसीले भने , “जवलपुरमा पनि दुई घर उच्च घरमा सारेका छौँ । जानकीका दर्जनौँ बस्ती जलमग्न छन् ।”

बस्तीमा बाढी पस्न थालेपछि यस क्षेत्रका पालिकाहरुले नाला सरसफाइजस्ता कार्यमा तीव्रता दिएका छन् । जमेका ढल खोल्ने, डुबान क्षेत्रमा पानीको निकास गर्नेलगायतका कार्यमा खटेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएका र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएका बताए ।

“सङ्कटासन्न क्षेत्र पहिचान गरेर ती ठाउँमा सुरक्षाकर्मी र उद्धार टोली तयारी अवस्थामा खटाएका छौँ”, उनले भने , “विपद्मा एक अर्कामा सहकार्य गर्न सघाउन पालिकालाई पनि निर्देशन दिएका छौँ । विषयगत शाखालाई तयारीमा राखेका छौँ । सबैसँग समन्वय भइरहेको छ ।”

आइतबार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १० दशमलव ५ पुगेको थियो । अहिले बिहान ६ बजेको मापनअनुसार कर्णालीमा जलसतह तह घट्दै गएको छ । कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ५७ मा झरेको छ । कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई चेतावनी, १० दशमलव ८ पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।

सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएकोछ ।
कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको भनाइ उनको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर