धुर्मस–सुन्तली फाण्डेशनको हात बाट हिमालयन कालिञ्चोक बीबीआर जेभीको हातमा
- असार २४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
अबको ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ । निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३÷३ तलाको टावर बनाउनुपर्ने छ ।
महानगरपालिकाका बरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका काम सम्झौता भएको कम्पनीले गर्नेछ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । तिकाम सक्ननिर्माणको लागत भ्याट र पीएससहित७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेश्कीका रुपमा आज ६ करोड ८० लाख रकम दिने तयारी गरेको छ । निर्माण कम्पनीले पेश गरेको कार्यतालिकाका आधारमा धमाधम निर्माणको काम हुने विश्वास महानगरले लिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।
पहिला ड्रेन मैदान प्याराफिट लगायतका काम हुने उनले बताए । महानगरले रंगशाला निर्माणलाई अति नै प्राथमिकतामा राखेको भन्दै उपनिर्देशक अर्यालले तोकेको अवधिभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिने बताए । उनका अनुसार बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ ।
‘महानगरपालिकाले रंगशाला निर्माणमा बजेटको कमी हुन दिँदैन,’ उनले भने, ‘महानगरपालिकाले गर्नुपर्ने काम सबै गर्न तयार रहेको जानकारी निर्माण कम्पनीलाई दिइएको छ ।’रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।
संघीय मन्त्रिपरिषद्को गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले विगतमा अन्यौलमा रहेको रंगशाला निर्माणको कामले अब गति लिने बताइन् । उनले रंगशाला देशकै गौरवको परियोजना भएकोले यसलाई पूर्णता दिन महानगर हरहालतमा लाग्ने बताइन् ।
धुर्मस–सुन्तली फाण्डेशनले चन्दा संकलन गरी बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाहा १९ कट्ठा जग्गामा धुर्मस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माण थालेको थियो ।
रंगशालाको काम ३९ प्रतिशत सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो । कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस–सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments