बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारीका १२ जना विरुद्ध मुद्दा दायर

- असार २६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सहकारीको बिषयमा २५ दिन लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा ललितपुर जिल्ला अदालतले मुद्दा दर्ता गरेको ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । एकपछि अर्को सहकारी काण्ड बाहिरीएका छन् । त्यसमध्ये एक हो कृषि विकास बहुउदेश्यीय सहकारी । जसले बचतकर्ताले बचत गरेको रकमलाई टीभीदेखि अस्पतालसम्म लगानी गरेका छन् । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारीका १२ जना विरुद्ध मुद्दा दायर भएको छ । करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
१ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।

पक्राउ परेका चार बाहेक अन्यलाई फरार प्रतिवादी बनाइएको उनले बताए । फरार प्रतिवादीहरूमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारीलाई फरार प्रतिवादी बनाइएको छ ।

यो समूहले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेको थियो । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ अन्तर्गतको ठगी कसुरमा मुद्दा दर्ता गरिएको छ । उक्त कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी ललितपुर प्रहरीले सहकारी ठगीको कसुरमा पक्राउ परेकाहरूको सम्पत्ति रोक्काका लागि समेत पत्राचार गरिसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर