एस दाहालको पक्षमा : केपीले जालझेल गरे । विगतमा पनि गरेकै थिए । फेरि पनि गरे -प्रधानमन्त्री दाहाल

- असार २७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
एकीकृत समाजवादी(एस)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटरमा बुधबार भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले विश्वासको मत दिने प्रतिबद्धता जनाएका हुन् ।

‘प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिँदै हुनुहुन्छ । पास/फेल जे भए पनि हामी विश्वासको मत दिन्छौँ,’ छलफलपछि सम्मानित नेता झलनाथ खनालले भने । छलफलमा नेपाल र खनालका साथै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।

दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दै परिवर्तनकारी शक्ति मिलेर जानुपर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले केपी ओलीले धोका दिएको बताएका छन् । ‘केपीले जालझेल गरे । विगतमा पनि गरेकै थिए । फेरि पनि गरे । भन्ने एउटा गर्ने अर्को बानी अझै गएको रहेनछ,’ प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

नेपालले आफूले सुरुदेखि नै सचेत गराएको भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । समाजवादी मोर्चालाई प्रभावकारी बनाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । ‘बीचमा समाजवादी मोर्चा निष्क्रिय बन्यो । हामीले जुन उद्देश्यका साथ मोर्चा बनाएका थियौँ, त्यो दिशामा अगाडि बढ्न सकेनौँ । पुनर्गठन गर्दै अगाडि बढ्नुपर्छ,’ नेपालले भने । मोर्चाको घटकका हिसाबले प्रधानमन्त्रीलाई विश्वासको मत दिने उनले बताए ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर