डुबानमा परी विस्थापित भएका परिवार घर फर्किए : ज्यान बच्यो, अन्नपात जोगिएन
- असार २९, २०८१ मा प्रकाशित
कासिन न्यूज,
कञ्चनपुर ।
जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् । अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ । अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।
घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरु बताउँछन् । स्थानीय मङ्गले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताए । “भाँडाकँुडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझबिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ”, उनले भने , “खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।”
दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ । बाढीले घर भत्काएपछि खुला आकाशमा पालको साहारा बस्नुपरेको उनले बताए । “बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो”, उनले भने , “दराज र सोफा लेदोले पुरिएको थियो ।घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।”
टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीले केही घर पूर्ण रुपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन् । घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन् ।
रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताए । “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्”, उनले भने , “ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन ।” उनले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताए ।
बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए । उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ । जिल्लाभरिमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments