प्रकाशमान सिंह र बिष्णु पौडेल उपप्रधानमन्त्री : एमालेले मन्त्रीहरुको टुङ्गो लगायो- कांग्रेस छान्दै

- असार ३०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् । राष्ट्रपति कार्यालयमा सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीको शपथ छ । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ । पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का भइसकेको छ ।

त्यसपछि बाँकी सबै मन्त्रीहरुको शपथ गराउने तयारी रहेको एमाले निकट एक नेताले जानकारी दिए । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मन्त्रीको नाम बुझाउने तयारी गरिरहेका छन् ।आइतबार साँझ मन्त्रालयको भागबण्डा टुंगो लगाएका देउवा र ओलीले सोमबार बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने भएका छन् । जसका लागि कांग्रेसमा सभापति देउवाले लगातार छलफल चलाइरहेका छन् ।

बिष्णु पौडेल

एमालेमा भने मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिइएको छ । सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको थियो । जसअनुसार ओलीले मन्त्री बन्ने सांसदहरुलाई संकेत दिइसकेका छन् । तर पक्का भने गरेका छैनन् ।

एमाले निकट एक नेताका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् । सचिवालय बैठकले योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले सिनियर नेतामध्ये गुरुङ, भट्टराई र विश्कर्मालाई मन्त्री बन्ने सूचीमा परेका हुन् ।

यस्तै पूर्वमन्त्रीहरु जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने नेताहरुको सूचीमा छन् । महतो र श्रेष्ठ यसअघि अघिल्लो कार्यकालमा ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री थिए । कास्कीकी विद्या भट्टराईलाई मन्त्री बनाउने ओलीको तयारी रहेको एमाले स्रोतले जनाएको छ । यसबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष जितेका दामोदर भण्डारी अथवा तारा लामा मन्त्री बन्ने सूचीमा छन् । भण्डारी यसअघि दाहाल नेतृत्वको सरकारमा मन्त्री थिए भने लामा सुदूरपश्चिम प्रदेशमा मन्त्री भएका थिए । दाहाल नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका पदम गिरी पनि मन्त्री दोहोरिने सम्भावना रहेको छ ।

कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ  ।

What’s your Reaction?
+1
3
+1
2
+1
1
+1
0
+1
0
Comments

सम्बन्धित खवर