यूरो कप फाइनल हेर्न बसेका प्रशंसकहरूले भरिएको रेष्टुरेन्टमा विस्फोट : ज्यान गुमाउनेको संख्या ९

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सोमालियाको राजधानी मोगादिशुको रेस्टुरेन्ट (क्याफे) मा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको सुरक्षा स्रोतले सोमबार बताएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ ।

विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद युसुफले बताए । उनका अनुसार घटनाको समयमा रेस्टुरेन्टमा अधिकांश युवासहित धेरै मानिसहरूले फुटबल खेल हेरिरहेका थिए । भाग्यले तिनीहरूमध्ये अधिकांशले सिँढीबाट माथि चढेर पछाडिको पर्खालमाथि उफ्रिएर सुरक्षित बाहिर निस्किन सफल भएको उनले बताए ।

आइतबार सहरको केन्द्रमा रहेको रेस्टुरेन्टमा विस्फोट हुँदा रातको आकाशमा ठुलो आगोको लप्को र धुवाँको मुस्लो उडिरहेको अनलाइनमा पोस्ट गरिएका तस्बिरमा देखिन्छ । विस्फोट भएको केही मिनेटपछि घटनास्थलमा पुगेका प्रहरी अधिकारी मोहम्मद सलादीले भग्नावशेषमा धेरै शव फेला परेको बताए । घटनामा भवन बाहिर सडक क्षेत्रमा गाडी चलाइरहेका सवारी चालकसहित पाँच जनाको मृत्यु भएको उनले बताए ।

रेस्टुरेन्टभित्र चार जनाको मृत्यु भएको र तीमध्ये केहीलाई भग्नावशेष मुनिबाट निकालिएको उनले बताए ।  कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य सञ्चालित सोमाली राष्ट्रिय समाचार संस्थाले अल–कायदासँग सम्बन्धित अल–सबाब जिहादी समूहले आक्रमण गरेको सङ्केत गरेको छ ।

सोमालियाको कमजोर सङ्घीय सरकारविरुद्ध अल–शबाबल १७ वर्षभन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ । यसै क्रममा मोगादिशु र देशका अन्य ठाउँमा थुप्रै स्थानमा उक्त समूहले बम विस्फोट गराएको छ । प्रत्यक्षदर्शीले विस्फोटपछि आतङ्क र अराजकताका दृश्यहरू वर्णन गर्दै मानिसहरू सुरक्षाको लागि हतारिँदा क्याफेको मुख्य प्रवेशद्वार पूर्णरूपमा आगोले जलेको बताए ।
“म रेस्टुरेन्टभित्र फुटबल खेल हेरिरहेको बेला ठुलो विस्फोटको आवाज सुनेँ, रेस्टुरेन्टको अगाडिको भागमा धुवाँ, धुलोसहित आगो लागेको थियो र हामी आतङ्कित भयौँ,” मुक्तरले भन्नुभयो । अन्य धेरै व्यक्तिहरू मुख्य प्रवेशद्वारतिर हतारिँदै गएको तथा यो दुर्गम क्षेत्र भएकाले ‘रगत बगिरहेका र चिच्याइरहेका’ घाइतेलाई तत्काल उपचार सेवा प्रबाह गर्न नसकिएको उनले बताए ।
एजेन्सीको सहयोगमा

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर