“स्वतन्त्र पालिकाको डोले”

- श्रावण १, २०८१ मा प्रकाशित


अमरप्रकाश तिवारी

१,साउन ।
स्वतन्त्र पालिकाको नियुक्ति पाएर डोले दंग पर्यो । पालिका बेरोजगार ग्रस्त भए पनि डोलेको आगमन सँगै नयाँ उत्साह र आशा पलाएका थियो । स्वतन्त्र पालिका देशकै पिछडिएको एक सुखा मरुभूमि जस्तै थियो । न अन्न, न रोजगारी, न अन्य आयश्रोत, न उद्योग कलकारखाना, दयनीय स्वतन्त्र पालिकामा डोलेको उदय आशालाग्दो थियो नै, साथै देशले नै अर्थपूर्ण रुपमा हेरेको थियो ।

डोले निकै उत्साही पनि थियो, केही गर्छ की भनेर अन्य पालिकाहरुले पनि स्वतन्त्र पालिकाको कार्यविधि र योजना नजिक बाट निहालिरहेका थिए । डोले माथि धेरै बेरोजगारहरुको पनि आशा रहेको थियो ।
एउटा भव्य र सब्य कार्यक्रमका प्रमुख अथिति डोले, निकै भावुक थियो । आसन ग्रहण सँगै चारै तिर आँखा घुमाएर आफू पट्टी फर्केको अथाह भीड नियाल्दै थियो, डोले ।
खै के सोचेको थियो कुन्नि तर त्यो बेरोजगार जमातमा भने डोले प्रति निक्कै आशा गरेका गाईगुँई आवाज आइरहेको थियो ।

अर्धबैशे एक जनाले निकै चर्को स्वरमा भन्दै थिए कि “हाम्रो स्वतन्त्र पालिकाको डोलेले अलौकिक चमत्कार गर्छन र हामी बेरोजगार लाई रोजगारी को व्यवस्था गर्छन ।
हाम्रो पालिकालाई देशकै उदाहरणीय बनाउँछन् ।“ सबैको ध्यान त्यस अर्धबैशे तिर केन्द्रित भयो । सबैले हो, हो पनि भने ।

कार्ययोजना प्रस्तुत गर्न डोले अगाडि आयो । सबैलाई पुनः नियाल्यो ।ड्यासमा उपस्थितीलाई पनि घुरेर हेर्यो । अनि एक बुलन्द आवाजमा बोल्यो, हाम्रो यो स्वतन्त्र पालिका देश कै नमूना पालिका बनाउने छु । यहाँ खडेरी छ, चरम बेरोजगारी छ सबै सामधन गर्छु, मलाई तपाईहरुको साथ चाहिन्छ । त्यहाँ भीड उत्साहित हुँदै गए, डोले प्रति आशा गरेअनुरुप नै हुने हो कि, केही त विश्वस्त पनि भए ।

फेरि डोले बोल्यो, मलाई तपाईहरुको साथ चाहिन्छ यहाँ खाने अन्न छैन, उपस्थित सबै जनाले पाँच मुरी अन्न योगदान गर्नुहोस ताकि हामी अन्न भण्डारण गर्न सकूँ ।
अर्को कुरो बेरोजगार जति सबैले बेरोजगार भए बापत हाम्रो स्वतन्त्र पालिकालाई मासिक मुरीका दरले कुत बुझाउनुस् ताकि हामी जस्ता स्वतन्त्र पालिकाका अगुवाहरू चल्न सकौं । हामीलाई काम गर्न दिनुहोस । तपाईंहरूले बुझाएको मुरी अन्न र कुतले म स्वतन्त्र पालिका चलाउँछु ।

ए भाग भाग !! डोलेले घुस माग्यो, भीड बाट आवाज आयो । तितर वितर दौडा दौड!! त्यहाँ एकाएक सन्नाटा छायो, सबै जना त्यहाँबाट भागे, त्यहाँ डोले मात्र रह्यो ।
ऊ अझ आफ्नो योजना त्यो सन्नाटामा भन्न खोज्दै थियो। त्यहाँ त्यत्रो भीड एकाएक सुनसान मसानघाटमा भयो । डोले एक्लै बोल्दै थियो मुरी अन्न र कुत बुझाउन आग्रह गर्दै थियो, त्यो मसानघाटमा ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर