राजनीतिका असफल खेलाडी : परिणाम आफ्नो पक्षमा पार्ने दाहालको दाउले काम गरेन

- श्रावण ३, २०८१ मा प्रकाशित


कुसुम भट्टराई

३,साउन ।

नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा रणनीति घोषित रुपमै अपनाउँदै आए । त्यो हो–शक्ति केन्द्रहरुविचको अन्र्तसंघर्षमा खेल्ने र परिणाम आफ्नो पक्षमा पार्ने ।अन्ततः यतिबेला दाहाल आफ्नो यही रणनीतिको आफै शिकार भएका छन् । अब उनको यो रणनीति चल्नेवाला छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)को बेमेलको फाइदा उठाइरहेका दाहाल यसपाली असफल भएका छन् ।

शक्ति केन्द्रहरुको अन्र्तसंघर्षमा खेल्ने रणनीति बमोजिम ‘जनयुद्ध’ ताका दाहालले राजा र संसदवादी दलहरुविच खेले । त्योबेला राजा ज्ञानेन्द्र र संसदवादी दलहरु विचको द्वन्द्वमा माओवादीले लाभ लिएको स्पष्ट छ ।संसदवादी दलहरु संवैधानिक राजतन्त्रकै पक्षमा थिए । राजा ज्ञानेन्द्रले ‘माघ १९’को कदम चाले पनि आन्दोलनको दबाबमा उनलाई पुनः संवैधानिक राजतन्त्रकै अवस्थामा फर्काउन सकिन्थ्यो ।

माओवादी अध्यक्ष दाहालले राजा र संसदवादी दलविचको कटुताको लाभ उठाए र शान्ति प्रकृयापछिको राजनीतिमा दाहाल नै हावी भए । धर्म निरपेक्षता, संघीयता, गणतन्त्र आदि एजेन्डा लागू भयो । र, दाहालले भन्न थाले, ‘यो सवै उपलव्धि मेरै नेतृत्वमा भएको जनयुद्धको परिणाम हो ।’शान्ति प्रकृया प्रारम्भ भएपछि दाहालले चीन र भारतको अन्र्तविरोधमा खेल्न खोजे । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत हुने परम्परा तोडेर चीन गए । झट्ट हेर्दा, दाहालले आफुलाई बडो राष्ट्रवादी देखाउन खोजेका थिए, तर भारत रिसाउला भनेर तत्काल भारत भ्रमण गई उता पनि साउती मारे ।

सभापति देउवा र अध्यक्ष  दाहाल

अर्थात, चीन र भारतको अन्र्तविरोधमा खेलेर आफ्नो सत्ता टिकाउने उनको दाउ थियो, जुन रुक्मांगत कटवाल प्रकरणपछि पुरा हुन पाएन । दुई विपरीत सोच र व्यवहारका व्यक्तिहरुविच खेलेर लाभ लिने रणनीति दाहालले आफ्नै पार्टीभित्र अपनाए । दाहालले डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’को वैचारिक अन्र्तविरोधमा खेले ।

यो रणनीतिले मोहन वैद्यलाई माओवादी पार्टीबाटै अलग गरायो । बादल र विप्लव पनि अलग भए । हुँदा हुँदा डा. बाबुराम भट्टराईलाई समेत माओवादीबाट किनारा लगायो ।राष्ट्रिय राजनीतिमा दाहालले नेपाली काँग्रेस र नेकपा(एमाले)को बेमेलको फाइदा उठाउँदै आयो । २०७४ सालको निर्वाचनअघि नेपाली काँग्रेससँग गठजोड गरेर दाहाल प्रधानमन्त्री भए ।

निर्वाचनका बेला काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेर उनी एमाले अध्यक्ष ओलीसँग मिल्न पुगे । अनौठो त कस्तो भयो भने माओवादी र एमालेविच पार्टी एकिकरण नै भयो र नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो ।नेकपाका नाममा एमालेभित्र छिर्नुको दाहालको नियत खासमा एमालेका नेताहरुविच अन्र्तविरोध पैदा गर्नु थियो । यति मात्र हैन, अध्यक्ष ओली र पूर्व महासचिव माधव नेपालविचको अन्र्तविरोधमा खेलेर आफै नेकपाको सर्वेसर्वा बन्ने दाहालको दाउ थियो ।
एमालेका बहुसंख्यक नेता कार्यकर्ताले ओलीको साथ छाडेनन् । फलस्वरुप नेकपाको दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री बनेका ओलीले दाहालको कुरा टेर्दै टेरेनन् ।

दाहालले नेता माधव नेपालको कान फुक्न थाले । उता, झलनाथ खनाललाई पनि उक्सान थाले । नेकपामा किचलो सुरु हुन थाल्यो । ओली र नेपालविचको अन्र्तविरोधमा खेल्दै दाहालले प्रधानमन्त्री ओलीलाई दबाबमा पार्न थाले । यस्तैमा सर्वोच्चको फैसला आयो–एमाले र माओवादी केन्द्रको एकता रद्द भयो । अर्थात नेकपा नामक पार्टीको कुनै अस्तीत्व रहेन ।यो घटनापछि दुई पटकसम्म संसद विघटनका घटना देखा परे । त्यसमा ओली सफल भएनन् । दाहालले चाँदीको किस्तीमा राखेर प्रधानमन्त्री पद नेपाली काँग्रेसभा सभापति शेरबहादुर देउवालाई सुम्पीए ।

दाहालले एमालेभित्र रोपेको विभाजनको बिउ पनि उम्रीयो । अर्थात माधव नेपालले पार्टी फुटाएर नेकपा (एकिकृत समाजवादी) गठन गरे । एमालेको आकार घटाउने रणनीतिमा दाहाल सफल भए । २०७९ को निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरेका दाहालले निर्वाचनलगत्तै एमालेसँग सत्ता गठबन्धन गर्न पुगे । अर्थात काँग्रेस र एमालेको बेमेलको फाइदा उठाएर तेश्रो हैसियतको दलका अध्यक्ष दाहाल प्रधानमन्त्री भए ।

पहिलो र दोश्रो दल हुँदा हुँदै तेश्रो दलले सरकारको नेतृत्व गर्नु लोकतन्त्रका लागि किमार्थ शोभनीय थिएन । दाहालले काँग्रेस र एमालेको बेमेलविच खेल्यो । कहिले काँग्रेसतिर, कहिले एमालेतिर ढल्कीदै राजनीतिक तिकडम अपनाइरह्यो ।तेश्रो दलको कत्रो दम्भ ? दाहालले आफुहरुसँग जादुई नम्बर भएको र उस्तै परे पुरै कार्यकाल प्रधानमन्त्री चलाउने भन्न थाले ।

दाहालको यो भनाईपछि भने काँग्रेस र एमाले झस्कीए । संसदमा तेश्रो ठूलो दलको यस्तो दम्भ कसैलाई पच्ने कुरा थिएन ।दाहालको सोच हुँदो हो, काँग्रेस र एमाले मिल्दैनन्, दुबै दलमध्ये एकले माओवादीको समर्थन लिनैपर्छ । कहिले एमालेसँग मिलेर खेलौंला, कहिले काँग्रेससँग मिलेर रमाउँला ।
काँग्रेस र एमालेविचको बेमेलको फाइदा लुटने दाहालको रणनीति अन्ततः पछिल्लो पटक आएर असफल भयो । काँग्रेस र एमाले नै आपसमा मिलिदिएपछि माओवादी केन्द्र निचोरिएको कागतीको खोस्टो झैं सत्ता राजनीतिबाट मिल्कीयो ।

‘शक्ति केन्द्रहरुविचको अन्र्तविरोधमा खेल्ने’ दाहालको रणनीति बुम¥याङ भयो । सत्ताबाट मात्र हैन, राजनीतिबाटै दाहालको सान्दर्भीकता हराउने अवस्था बन्यो । आफ्नै रणनीतिको आफै शिकार भए–दाहाल ।राजनीतिमा चातुर्य अपरिहार्य हुन्छ । तर, अति चतुर हुन खोज्दा आफ्नै चातुर्यले आफैलाई समस्यामा पार्छ । दाहाल पनि धेरै बाठो र चतुर हुन खोजे । काँग्रेस र एमाले मिल्दैनन्, पुरै कार्यकाल मै प्रधानमन्त्री हुन्छु भन्ने भ्रममा रहे । जुन भ्रम टुटन प्ग्यो ।
आखिर ओलीले दाहालसँग कायम भएको गठबन्धन किन तोडे ? यसको भित्री कारण अर्कै छ ।

दाहालको एउटा सपना थियो, एमालेजस्तो ठूलो दलको अध्यक्ष हुने । ओली रहुन्जेल त्यो सपना पुरा हुँदैनथ्यो । त्यसैले दाहालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाउने चलखेल सुरु गरेका थिए ।एमालेका केही कार्यक्रमहरुमा सहभागी भइसकेकी भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी स्वरुप शक्रिय भइरहेकी छिन् ।

यसै मेसोमा एमाले र माओवादी केन्द्रलाई पुनः एक गराउने, भण्डारीलाई पार्टी अध्यक्ष बनाउने र ओलीलाई ‘आइसोलेसन’मा पार्ने दाहालको दाउ थियो । एमाले भित्रको राजनीतिमा समेत दाहालको यसखालको चलखेलबारे जानकारी पाएपछि ओलीले दाहाललाई ‘ठेगान लगाउने’ रणनीति बनाउन थाले । दाहाललाई सत्ताबाटै हटाउन र कमजोर बनाउन ओलीले ‘मुभ’ चाले । यसैको परिणाम हो–काँग्रेस–एमाले गठन्धन । अहिले आएर काँग्रेस र एमालेको बेमेल, ओली र विद्याविचको बेमेल, ओली र माधवविचको बेमेलभित्र लुसुक्क छिरेर लाभ लिने जुन रणनीति दाहालले अपनाएका थिए, त्यो पूर्णत असफल भएको छ ।

 

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर