जग्गा विवादले लियो ज्यान : ३ जनाको समूहमा आएका व्यक्तिबाट हत्या

- श्रावण ७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

सर्लाही प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा आएको खुलेको हो ।राय र उनको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए ।

हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भनेकाले राति आएका तीन जनाबीच जग्गा विवादको समस्या रहेको जस्तो बुझिएको अनुसन्धान अधिकृत बताउँछन् ।
जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो । त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् ।

पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बताएका छन् ।जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् ।

राति पिसाब फेर्न उठ्ने बेलामा भने पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ ।

अहिले राम उदेनमाथि सोधपुछ भइरहेको सर्लाही प्रहरी प्रवक्ता श्रेष्ठकाले बताए । उनका अनुसार राति घरमा ३ जनाको समूहमा आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ । रायलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर