•  ११ पुष २०८१, बिहीबार

“आपूर्ति मन्त्री भण्डारी र अमेरिकि राजदूत बिच भेट”

- श्रावण १५, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं –
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग संयुक्तराज्य अमेरिकि राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार,सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशकि सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पु-याएको सहयोगका लागि सरकार प्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिका बाट प्राप्त बिकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न् क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको छ ।”

अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्वपूर्ण मुलुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र संयुक्त राज्य अमेरिका बीच सन् २०११ मा व्यापार तथा लगानी कार्यढाँचा सम्झौता सम्पन्न भएको र उक्त सम्झौता अन्तर्गतको टिफा काउन्सिलको बैठकमा नेपाल सरकारका तर्फबाट यस मन्त्रालयले नेतृत्व गर्दै आएको छ ।”

सो काउन्सिलको छैटौँ बैठक सन् २०२३ को मे १९ मा काठमाडौँमा आयोजना भएको थियो । उक्त बैठकमा दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका बिभिन्न विषयमा छलफल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “टिफा काउन्सिलको सातौं बैठक निकट भविष्यमा अमेरिकामा आयोजना हुने अपेक्षा गरिएको छु ।”

भूकम्प पछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पु-याउन अमेरिकि सरकारले नेपाल व्यापार प्राथमिकता कार्यक्रम मार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई सन् २०२५ को अन्त्य सम्म शून्य भन्सार महसुलमा अमेरिकि बजार प्रवेशको सुविधा प्रदान गरेको मन्त्री भण्डारीले उल्लेख गर्दै भन्नुभयो, “तत्कालीन विपद्को समयमा अमेरिकि सरकारले नेपाललाई प्रदान गरेको यस सुविधाका लागि उच्च प्रशंसा गर्न चाहन्छु ।”

युएसआइडीको सहयोग एवं नेपालको निजी क्षेत्र, वित्तीय क्षेत्र र सरोकारवाला मन्त्रालय सँगको सहकार्यमा व्यापार तथा प्रतिस्पर्धी कार्यक्रम हाल कार्यान्वयनमा रहेको जनाउँदै उहाँले यस कार्यक्रम मार्फत नेपालको लघु, साना तथा मझौला व्यवसायीको व्यावसायीक क्षमता विकास एवं अमेरिकि तथा युरोपेली बजारमा नेपाली वस्तु निर्यात गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको भूपरिबेष्ठित अबेस्थित साँघुरो उत्पादन मूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनको लागि राजदूत थम्सन मार्फत मन्त्री भण्डारीले अमेरिकि सरकारसँग आग्रह गर्नुभयो ।

अमेरिकाबाट नेपालमा सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालमा गत अप्रिल ५० भन्दा बढी मुलुकका लगानीकर्ताको उत्साहप्रद सहभागिता सहित लगानी सम्मेलन सम्पन्न भएको छ, सो सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले विभिन्न सात वटा कानूनमा संशोधन गरी लगानी वातावरणलाई थप सहज बनाउने प्रयास गरेको छ ।”

साथै मन्त्री भण्डारीले पछिल्ला वर्षमा लगानी तथा व्यवसाय सम्बन्धी प्रक्रियागत सरलीकरणमा समेत उल्लेखनिय सुधार भएको जनाउँदै नेपालमा थप अमेरिकि लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधिपर्यटन, उत्पादन मूलक र अन्य क्षेत्रमा लगानी वृद्धिका लागि उहाँले अमेरिकि सरकारसँग अपेक्षा गर्नुभयो ।

सो क्रममा राजदुत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताउनुभयो । विगतमा रोक्का हुने भनिएको युएसएआइडीको कार्यक्रम निरन्ततर हुने जनाउँदै उहाँले नेपाल र अमेरिका बीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता टिफाको बैठक आगामी सेप्टेम्बर १६ र १७ मा नेपालमै बस्ने बताउनुभयो ।

साथै उहाँले नेपाल व्यापार प्राथमिकता कार्यक्रम मार्फत नेपालका ७७ वटा बिभिन्न वस्तुलाई अमेरिकि बजार प्रवेशको सुविधा सन् २०२५ को अन्त्यसम्म मात्र शून्य भन्सार महसुल लगाउने म्याद रहेकामा त्यसलाई थप गर्न पहल गर्ने आश्वासन दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर