भोलि श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी नागको पूजा अर्चना गर्ने दिन

- श्रावण २४, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं –

भोलि प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्परा अनुसार नागको पूजा अर्चना गर्नाले नाग देवता समक्ष पुग्ने र घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने विश्वास रहेको छ ।

नागका बाह्र प्रकारका नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातन काल देखिको परम्परा रहि आएको छ “अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहित बाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ”।

घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छी लगायत घिस्रने जनावरलाई मार्नु हुदैन किनभने वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले दुवै भगवान् लाई नागका रुपमा मान्ने गरिएको हो । “प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनु भएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएका कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।”

किंबदन्ती अनुसार एकजना किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेपछि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दयाँ गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बाचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोड्षोपचारले पूजा गरी दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ बर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी बर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइ दिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सो दिन नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ” ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर