बनेपाको धार्मिक पर्यटकीयस्थल गोसाइँस्थान सिङ्गारिदै

- श्रावण ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्ने भएकाले मेला व्यवस्थापनका साथै वडाको सहयोगमा रङरोगन गरिँदैछ ।

रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएकाले त्यहाँ पुग्न नसकेका भक्तजन यहाँ रहेको गोसाइँस्थानमा मेला भर्ने गर्दछन् । गोसाइँस्थान धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा रहेको भक्तजन बताउँछन् ।

बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको घुइँचो लाग्ने गरेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष यहाँ भक्तजनको आगमन वृद्धि हुने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो ।

“मेलामा बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल बढ्छ । तसर्थ रङरोगन गर्नुका साथै खानेपानी, बत्ती जडान र सुरक्षाका लागि भीड तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी तथा स्वयंसेवक परिचालन गर्नेछौँ । स्वास्थ्य सहायताका लागि सहायता कक्षा राख्नेछौँ”, श्रेष्ठले भन्नुभयो । यहाँ हिन्दू, बुद्धका साथै बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने उहाँले जानकारी दिनुभयो ।

हिन्दू धर्मसंस्कारअनुसार यहाँ रहेको शिव मन्दिरमा पूजागरी ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न किसिमकले पूजागरी दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन ९डोरो० बाँध्ने प्रचलन छ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बताउँछन् । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा आएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय समाजसेवी भैरव केसीले बताउनुभयो ।

“परापूर्वकालमा भाद्र पूर्णिमाका दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको विष बाहिर निस्कियो । त्यो विषलाई महादेवले सेवन गरेपछि विष सेवनको छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लाग्नुभयो । त्यही क्रममा महादेवको पहिलो बास बनेपा–६, गोसाइँस्थानमा भयो । बिहान भाले बासेपछि रसुवाको गोसाइँकुण्डमा पुगेर त्यहाँ त्रिशूलले घोपेर पानी निकाली पीडा शान्त पार्नुभएको कथन छ”, उहाँले भन्नुभयो ।

यहाँ लाग्ने जात्रामा महिला र पुरुषबीच दोहोरी गीत गाउने प्रचलन रहेको गोसाइँस्थान संरक्षण समितिका उपसचिव राजु मानन्धरले बताउनुभयो । मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत देशका विभिन्न भेगबाट भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर