स्वचालित पेसी लागू भएपछि पेसी तोक्दा हुने विवाद निरुपण हुने : म्याग्दी जिल्ला अदालत
- भाद्र २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
म्याग्दी जिल्ला अदालतमा स्वचालित पेसी लागू भएपछि कार्यसम्पादन छिटो, छरितो हुनाका साथै पेसी तोक्न सहज भएको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार अदालतमा दर्ता भएर अंश पुगेका मुद्दाहरू प्रणालीमा राखेपछि स्वचालित रूपमा पेसी चढ्ने भएकाले मुद्दाका पक्ष विपक्ष बीचमा पेसी तोक्दा हुने विवादको समस्यासमेत निरुपण भएको छ ।
अदातलले सुरु गरेको स्वचालित पेसी तोक्ने व्यवस्थाले न्यायलयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, वार्षिक लक्ष्यप्राप्तिमा सहज हुने अपेक्षा गरिएको अदालतका स्रेस्तेदार रेग्मीले उल्लेख गर्नुभयो । अदालतले मुद्दाको विषय, प्रकृति र सम्पादन गर्नुपर्ने अवधिअनुसार वर्गीकरण गरेर पेसी हुने दिनसमेत निर्धारण गरेको छ ।
आइतबार बालबालिकासम्बन्धी, सोमबार र मङ्गलबार छ महिनाभित्र टुङ्ग्याउनुपर्ने, बुधबार एक वर्षभित्र र बिहीबार दुई वर्षभित्र टुङ्गो लगाउनुपर्ने मुद्दाहरु हेरिने जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । बालबालिकासँग सम्बन्धित र १८ महिना काटेका मुद्दाको हकमा प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले प्रणालीले सोहीअनुसार पेसी चढाउने गरेको उहाँले बताउनुभयो ।
एक वर्षअघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेसी म्याग्दी जिल्ला अदालतमा पनि लागू गरिएको हो । न्यायपालिकाको रणनीतिक योजनाले सरल, सामान्य र विशेष गरेर मुद्दाको वर्गीकरण गरी सोअनुसार प्रणालीले मुद्दाको पेसी चढाउने गरेको न्यायाधीश पण्डितले बताउनुभयो । यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीद्वारा तारेख र पेसी तोक्ने गरिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments