राष्ट्रियसभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सर्वसम्मतिले पारित
- भाद्र ६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
राष्ट्रियसभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
त्यसअघि कानुनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराउनुभएको थियो । उहाँले उक्त प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराउनुभयो । सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।
उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । सो विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा उत्पत्ति भएको सो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्यवनमा आउनेछ ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक माथिको छलफलमा राष्ट्रियसभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उहाँले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिनुभयो ।
कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै उहाँले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताउनुभयो । “कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको विश्वास र सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलबीच भएको सहमति तथा कार्यदलले गरेको सहमतिलाई विश्वास गरेर राष्ट्रियसभाबाट संक्षिप्त रुपमा विधेयक पारित हुन लागेको उल्लेख गर्दै उहाँले यो सहमतिले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका निम्ति योगदान गरोस् भन्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याएर मुलुकको समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन र संरचनाले पीडितलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने आशङ्का व्यक्त गर्नुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments