दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

- भाद्र २३, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
म्याग्दी – आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।

समुन्द्री सतहबाट ५ हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ । भौगोलिक रुपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् ।

दुई वटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ ।

धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताउनुभयो ।

“धर्मशाला सञ्चालन नहुने समयमा दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा हामीलाई चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “जनशक्ति र खाद्यान्न व्यवस्थापन गर्ने आर्थिक स्रोत अभाव हुँदा दुई महिनामात्र धर्मशाला सञ्चालन गर्नुपरेको हो ।”

घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०/२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ । जस्तापाताले छाएको टहरा पनि छन् । घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन् । मोबाइल फोनको पहुँच छैन ।

म्याग्दीको नारच्याङका मोहन पुर्जाको अगुवाइमा दामोदरकुण्डको धर्मशालामा दाल, चामल, तरकारी र पीठो व्यवस्थापन हुँदै आएको छ । घिमीठाँटीमा दुई जना र दामोदरकुण्डको धर्मशालाका एकजना कर्मचारीलाई दैनिक रु.५ सय ज्याला दिएर दुई महिना राख्ने गरिएको गुरुङले जानकारी दिनुभयो ।

गत हप्ता दामोदरकुण्ड पुग्नुभएका काठमाडौँका सर्वोत्तम ढकालले धर्मशाला बन्द भएकाले आफैँ खाने, बस्ने सामानको बन्दोबस्ती गर्नु परेको बताउनुभयो । “थाकेर लखतरान हुने तीर्थयात्री पकाएर खानसक्ने अवस्थामा हुँदैनन्”, उहाँले भन्नुभयो, “आफैँ सामान बोकेर लैजाने र पकाएर खान गाह्रो हुने रहेछ ।”

घारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो । कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ । घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन हयारा–घाराबाट घोडाको यात्रा गर्दछन् ।

दामोदरकुण्ड जान र आउन प्रतिघोडा रु १० हजार शुल्क तिर्नुपर्छ । घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुविधा रहेको बताउनुभयो ।

“जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउँछन् । दुई महिनामात्र धर्मशाला सञ्चालन हुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न समस्या भएको छ ।” बिरामीको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आउनुभएका याराका टासी गुरुङले दाताले पठाएको र दिने खाद्यान्नले नपुग्ने, मौसमले साथ नदिने भएकाले दुई महिना मात्र समयसम्म धर्मशाला सञ्चालन गर्ने गरिएको बताउनुभयो ।

“गत वर्ष ४ हजारको हाराहारीमा तीर्थयात्रीहरु पुगेको दामोदरकुण्डमा यसपाली ३ हजारको हाराहारीमा आएका छन्”, उहाँले भन्नुभयो, “अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्न अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर तिरेर अनुमति लिनुपर्ने नीतिगत व्यवस्थाका कारण थोरै मात्र विदेशी आउँछन् ।”

महँगो प्रवेश शुल्क तिर्नुपर्ने कारण विशेष गरेर कमजोर आर्थिक अवस्था भएका भारतीय तीर्थयात्रीहरु चाहेर पनि दामोदरकुण्ड तीर्थयात्रामा आउन नसकेका टासीले बताउनुभयो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष झयाङ छेसा गुरुङले धर्मशाला सञ्चालनको समय अवधि लम्ब्याउनुपर्ने र मोबाइल फोन सेवा विस्तारको अतिआवश्यक भएको बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर