म माथि निष्पक्ष छानबिन होस: सांसद धनराज गुरुङ र उप सभामुखले राजिनामा दिनुपर्छ : सांसद गोकुल बास्कोटा

- भाद्र २५, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उहाँले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताउनुभयो । साथै उहाँले छानबिनमा सघाउने बताउनुभयो ।

सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसद्मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनुभयो ।

सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ रु प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन । व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ ।”

सांसद बास्कोटाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा’ पूरा गर्ने दिशामा अगाडि बढेको भन्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरण र औद्योगिकीकरण प्राथमिकतामा रहेका बताउनुभयो । साथै उहाँले नीतिगत सुधारका माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर