ढोरपाटनबागलुङमा बाढी-पहिरोमा अठार जनाको मृत्यु, २२ घाइते

- भाद्र २७, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
ढोरपाटन (बागलुङ) – बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढी – पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढी-पहिरोमा परि १० जना पुरुष र ८ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा ३ पुरुष र १ महिला गरि ४ जना, गलकोट नगरपालिकामा १ महिला, १ पुरुष गरि २ जनाको मृत्यु भएको छ ।

यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो । पहिरोमा परि २२ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते मध्ये ७ जना बडिगाड गाउँपालिका, १ जना जैमिनी नगरपालिका र १ जना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउनुहुन्छ । बाढीपहिरोमा परि २२ वटा पशुचौपाया मरेको उहाँको भनाइ छ । बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताउनुभयो ।

जिल्लामा गत असार १५ गतेदेखि बाढी-पहिरोले क्षति पु-याउन थालेको थियो । बाढी-पहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायत जिल्लामा करिब १ सय ५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बाढी-पहिरोबाट यसवर्ष बडिगाडले क्षति ब्यहोर्नु परेको बताउनुभयो । बाढी-पहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उहाँको भनाइ छ । पालिकाको स्रोत साधानले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उहाँ बताउनुहुन्छ ।

बाढी-पहिरोले वडा नं १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यकपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष हामीहरुले कल्पनानै नगरेको घटना भयो, बाढी-पहिरो अप्रत्यसित ठाउँमा गयो, यसले सिङ्गो बडिगाडलाई स्तब्ध बनाएको छ, अझै पनि वर्षा रोकी नसकेको हुँदा आम नागरिलाई सजक हुन आग्रह गरेका छौं, बाढीपहिरोले धेरैलाई घरबारविहीन बनायो, कतिलाई परिवार, आफन्त विहीन बनायो, पीडामा परेका नागरिकको घाउमा हामीहरुले सक्दो मलम लगाउने कोसिस गरेका छौं ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर