सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

- भाद्र २९, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोड्नु भएको छ । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उहाँले अनशन तोड्नु भएको हो । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गर्नुभएको थियो ।

चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गर्नुभएको छ । उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाउनु भएको थियो ।

सहमति अनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैं अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैं लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ ।

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ । सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ ।

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजना अन्तर्गत पर्ने बेलाटारी-कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ । प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरुले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर