डेङ्गी सङ्क्रमित ३ हजार ७ सय ६८ जना, ३ जनाको मृत्यु
- भाद्र ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
गण्डकी – कास्कीमा डेङ्गी सङ्क्रणबाट ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका ३ हजार ७ सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
आइतबार सम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा ३ हजार १ सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुच्छ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
यस्तै अन्य जिल्लाका २ सय ६३ र ठेगाना नखुलेका ३ सय ८ गरी कास्कीमा कूल ३ हजार ७ सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेङ्गीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताउनुभयो । जनघनत्व बढी भएका ठाउँमा सङ्क्रमण छिटो फैलने हुँदा पोखरा डेङ्गीको ‘हट स्पट’ बनिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयले डेङ्गीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका सङ्क्रमित समेत रहेको जनाएको छ ।
सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो ।
पछिल्लो ३ महिनामा डेङ्गी सङ्क्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताउनुभयो । “डेङ्गीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “सङ्क्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्यु समेत हुनसक्छ । यसैले डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”
धवलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्न उहाँले आग्रह गर्नुभयो । डेङ्गी भएमा आराम गर्ने, पानी लगायत झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने डा प्रधानले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ । त्यसैले सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments