आज जन-आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
- आश्विन २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जन-आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो ।
काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हालेको थियमे । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला गणेशमान प्रवास जानुअघि तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभएको थियो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रुपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उहाँ सदा क्रियाशील हुनुभयो ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभएको थियो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो ।
विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो । तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा उहाँले विशेष अदालतबाट सफाइ पाउनुभयो ।
गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो ।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो । नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्न लागिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments