आर्थिक वर्ष २०८०/८१ मा १ सय १० जना नयाँ कुष्ठरोगी देखापरे

- आश्विन ८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
वीरगञ्ज (पर्सा) – जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा १ सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आवमा जिल्लाका १३ पालिकामा १ सय १० कुष्ठरोगी भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले पर्सामा ६५ पुरुष र ४५ महिलामा कुष्ठरोगी भेटिएको जानकारी दिनुभयो । “पर्साको १४ पालिकामध्ये ३ वर्षदेखि ठोरी गाउँपालिकामा एउटा पनि कुष्ठरोगीका बिरामी भेटिएको छैनन”, उहाँले भन्नुभयो, “अन्य पालिकामा भने छिटफुट रूपमा कुष्ठरोगी छन् ।”

वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगी भेटिएका छन् । त्यस्तै दोस्रो धेरै कुष्ठरोगी भेटिने पालिकामा जगरनाथपुर गाउँपालिका रहेको छ । सो पालिकामा १५ जनामा देखिएको छ । यसैगरी विन्ध्वासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जनामा कुष्ठरोग देखिएको छ ।

कार्यालयका अनुसार जिल्लामा आव २०८०/८१ मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रति १ लाखमा १६ दशमलव ३ जना रहेका छन् । त्यस्तै आव २०८०/८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा १ दशमलव ६ जना रहेको छ । आव २०७९/८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने प्रति १ लाख जनामा १७ दशमलव १ जना छन् । त्यसैगरी आव २०७९/८० मा कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा १ दशमलव ७४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा साहले कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर