अविरल वर्षाका कारण धेरै जनाकाे मृत्यु र धेरै ठाउँमा सडक अवरुद्ध
- आश्विन १२, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
अविरल वर्षाका कारण बागमती प्रदेश बढी प्रभावित
मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।
बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बिपी राजमार्ग, पृथ्वी राजमार्ग लगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् ।
अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ ।
कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको मन्त्रालयको भनाइ छ । पश्चिमतर्फ कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन स्थानीयको सहयोगमा सुरक्षाफौज र सडक विभागले काम पनि गरिरहेको छ । मानवीय र भौतिक क्षतिलाई न्यून गर्न मन्त्रालयको प्रयास केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी ५ वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य ३ जना भने भागेर बाँच्न सफल भएका छन् ।
पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवै जनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बाढीपहिरोमा परी ६ जनाको मृत्यु
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढीपहिरा लगायत विपद्मा परी ७ जना घाइते र ७ जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।
बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब ४ सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार १ सय ५० भन्दाबढी स्थानमा बाढीपहिरा लगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।
काठमाडौँको नदी करिडोरका सडक बन्द
काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।
प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उहाँले भन्नुभयो ।
मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।
धादिङ बेसी मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।
नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।
पहिरोले ढुङ्गा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
पहिरोले घर पुरिँदा दुईको मृत्यु
सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।
घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिनुभयो ।
मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिनुभयो ।
पहिरोले स्याफ्रु–रसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए
सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।
काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।
सडक मार्ग खोल्ने प्रयास गरिए पनि धेरै स्थानमा आएको पहिराका कारण ठाउँठाउँमा हिलोमाटोको लेदोसमेत भरिएको उहाँले बताउनुभयो ।
आज बिहानैदेखि काम सुरू गराइने प्रजिअ खनालले जानकारी दिनुभयो ।
सडकमार्ग अवरूद्ध भएका कारण मानसरोवर कैलाशको धार्मिक यात्रा सम्पन्न गरी फर्केका यात्रु टिमुरेमा रोकिएको सीमा सुरक्षाकर्मीले जानकारी दिएका छन् । चीनबाट आयात भएका दर्जनौँ विद्युतीय सवारीसाधन सडक बन्द भएपछि टिमुरेमै रोकिएका छन् ।
पहिरोका कारण टिमुरे बजार एवं रसुवागढीको सीमावर्ती क्षेत्रमा विद्युत् तथा टेलिफोन विच्छेद भएको छ । भारी वर्षाका कारण बाढीपहिराको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । कुनै समस्या भए सुरक्षा अङ्ग वा स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी गराई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय सुरक्षा निकायमा खबर गरिदिन अनुरोध गरिएको प्रजिअ खनालले बताउनुभयो ।
विद्यालय जाने बालबालिकालाई एक्लै नपठाउन र सहज स्थान भए पनि रातिको समयमा सवारीसाधन नचलाउनसमेत जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ । भारी वर्षाकै कारण ग्रामीण क्षेत्रको अधिकांश सडक बन्दहुँदा बडादसैँका लागि खाद्यान्न ढुवानीमा असहज भएको छ ।
पहिरोले सडक अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उहाँले बताउनुभयो । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।
नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।
ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ ।
विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ ।
त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ ।
पहिराले पृथ्वीराजमार्ग अवरुद्ध
आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिनुभयो ।उहाँका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।
खोलाले बगाएर ३ जना बेपत्ता
बाढीले बगाउँदा झापामा ३जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो । यसैगरी, गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।
शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उहाँको खोजीमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो ।
त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।
नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको ३ वटा टिप्पर र २ वटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिनुभयो । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उहाँले भन्नुभयो, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र २ वटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”
नदीमा भीषण बाढी आएपछि दिउँसो देखि नै आयोजनाको ३ वटा टिप्पर, २ वटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उहाँको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments