कुलेखानी र कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
- आश्विन १२, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिनुभयो ।
“जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भन्नुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताउनुभयो ।
कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । कुलेखानीको क्षमता कूल १ हजार ५ सय ३० मिटर छ ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
आज बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।
केही नदीमा जलसतह खतरास्तर नजिक
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।
विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तर भन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments