१३औँ विश्व कराते च्याम्पिन्सिपमा एरिका सहभागी हुँदै

- आश्विन १९, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ सहभागी हुन लागेकी हुन् ।

एरिकाले यु–२१ उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौलसमूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल यही असोज २७ गते हुनेछ ।

क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १०औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिनुभयो ।

एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कूल ८ पदक दिलाएकी छन् । त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्यपदक छ । एरिकाले यो सफलता १ वर्षमा हासिल गरेकी हुन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै, एरिकाले १९औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत पद जितेकी थिइन ।

प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले आज शुभकामना दिँदै विदाई गर्नुभयो ।

इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । नेपाली टोली भोलि इटाली प्रस्थान गर्नेछ ।

सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रदान गर्नुभयो ।

अध्यक्ष लामाले नेपाल करातेमा एसियालीस्तरमा पदक जितेर इतिहास रचिसकेको उल्लेख गर्दै नेपालले यसपटक करातेको विश्व च्याम्पियनसिपमा पदक जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर