सन्देश सहित प्रदेश प्रमुखद्वारा विधेयक फिर्ता

- आश्विन २३, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं
लुम्बिनी प्रदेशसभाबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी सन्देश सहित फिर्ता पठाउनुभएको छ । प्रदेशसभाले प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएका दुई वटा विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाउनुभएको हो ।

प्रदेश प्रमुखले फिर्ता पठाउनुभएको विधेयकमध्ये प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक छन् । उक्त विधेयक पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

प्रदेशसभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा ९१० बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेस हुन आएका विधेयक संविधानको धारा २०१ को उपधारा९३० बमोजिम पुनःविचार हुन आवश्यक देखिएकाले प्रदेशसभामा फिर्ता पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक प्रदेशसभाबाट गत भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठनसम्बन्धी विधेयक भदौ २७ गते पारित भएको थियो । यी दुवै विधेयक प्रदेश प्रमुखले मङ्गलबार प्रदेशसभामा फिर्ता पठाउनुभएको हो ।

प्रदेशसभाले पठाएको अन्य दुई विधेयक भने प्रदेश प्रमुख घर्तीले प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख घर्तीले प्रदेश विपद् व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवस्थासम्बन्धी प्रचलित प्रदेश कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश विपद् व्यवस्थापन विधेयक असोज २० गते र औद्योगिक व्यवसायसम्बन्धी विधेयक असोज २१ गते प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विपद् व्यवस्थापन विधेयक प्रदेशसभाबाट भदौ गत २८ गते र औद्योगिक व्यवसायसम्बन्धी विधेयक भदौ ७ गते प्रदेशसभाबाट पारित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर