पहिलो टि–२० मा नेपालद्वारा अमेरिका पराजित

- कार्तिक २, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएको थियो ।

अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र २ छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स ३–३ र सैतेजा मुक्कामल्ला २ रनमा आउट भएका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ६४ रनको योगफल बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा ४ चौका र एक छक्का सहित सर्वाधिक ४९ रन बनाएका हुन् । अर्का खेलाडी दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडेका थिए ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले १–१ विकेट लिए । अमेरिका र नेपालबीच ३ ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर