प्रधानमन्त्रीको सम्बोधन : जुनसुकै भ्रष्टाचारीमाथि कारबाही हुन्छ

- कार्तिक ७, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।

जुनसुकै भ्रष्टाचारीमाथि कारबाही हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट गर्नुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उहाँले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताउनुभयो ।

“हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदैछ ।”

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्नुभयो ।

“भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकाङ्क्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौँ ।”
सरकार सम्हालिँदै अघि बढिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताउनुभएको छ ।

“लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।”

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पार्नुभयो । उहाँले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिनुभयो । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट रु ६ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ ।

“यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गर्थ्यो ।” उहाँले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

“पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता ग-यौँ, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या २ सय ७४ वटा पुग्यो । तीमध्ये १ सय ८५ वटा काम सम्पन्न भएका छन् ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर