डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

- कार्तिक ८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
वीरगञ्ज (पर्सा) – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ ।

मोतीहारी–अमलेखगञ्ज परियोजना अन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते ५ हजार ५ सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिनुभयो ।

“दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ”, उहाँले भन्नुभयो, “गत असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि ५ हजार ५ सय किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौँ । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रुपमा पाइपलाइनबाटै ल्याइनेछ ।”

परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । “निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्याङ्की, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ ।” कार्यालय प्रमुख आचार्यले भन्नुभयो ।

निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर रु ३ का दरले १ अर्ब जोगिने छ । “हाल पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी खर्च र वातावरण प्रदूषण दुवै जोगिनेछ ।” डिजेल भने पाइप लाइनबाटै आयात भइरहेको छ ।
निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भएको छ । अमलेखगञ्जमा निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थियो । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि १ अर्ब ५४ करोड भारु खर्चिएर ४ हजार १ सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माणको काम अघि सारेको थियो ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर ४ हजार १ सय किलोलिटर क्षमताको ट्याङ्क, २ सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, ३ हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माणको जिम्मेवारी लिएको थियो । सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले २ अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजनो थियो ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट २ अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु १ अर्ब ५४ करोड पुगेको छ । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेल आयात भइरहेको निगमले छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर